
भैरहवा, ७ मंसिर । सरकारले संविधान संशोधन मार्फत ५ नम्बर प्रदेशका केही जिल्लालाई टुक्राउन खोजेकोमा त्यसको विरोध गर्दै भैरहवामा र्याली तथा सभा सम्पन्न भएको छ ।
भैरहवाको लुम्बिनीरोडबाट निस्केको र्याली बुद्धचोक, बर्मेलीटोल, नारायणस्थान, विद्रोहीचोक, प्रहरीटोल हुँदै मिलनचोकमा गएर कोणसभामा परिणत भएको थियो ।

प्रचण्ड सरकार होसियार, ५ नं प्रदेश टुक्राउन पाइँदैन, हिमाल पहाड तराई, कोही छैन पराई भन्ने नारा लगाउँदै राष्ट्रिय झण्डा सहित हिँडेको र्यालीमा भैरहवा क्षेत्रका उद्योगी, व्यापारी, नागरिक समाजका अगुवा, संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहभागी रहेका थिए ।
र्याली पश्चात आयोजित कोणसभालाई सम्बोधन गर्दै व्यवस्थापिका संसदका सांसद आदित्यनारायण कसौधनले ५ नम्बर प्रदेशलाई टुक्राउने प्रस्ताव सरकारले पेश गर्नु सरकार ढल्दैछ भन्ने संकेत भएको बताए ।
एमाले नेता समेत रहेका कसौधनले ५ नम्बर प्रदेशको कुनैपनि जिल्लालाई दायाँबायाँ गर्न खोजिए त्यसको मूल्य अत्यन्तै महँगो चुकाउन सरकार तयार हुनुपर्नेमा चेतावनी समेत दिँदै संशोधनको प्रस्ताव तत्काल फिर्ता लिन माग समेत गरे ।

सो कोणसभामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष बद्रे आलमले जनताको भावना विपरीत ५ नम्बर प्रदेशलाई टुक्राउन खोजिए आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिए । नेता आलमले भने “पहाड र तराईको मिश्रणबाट बनाइएर प्रस्तावित गरिएको ५ नम्बर प्रदेश सबै प्रदेशभन्दा अब्बल हुँदाहुँदै निहित स्वार्थका कारण पहाड र तराईलाई छुट्याउन खोजिनु गलत हो ।”
एमाले सिद्धार्थनगर अध्यक्ष रामबहादुर श्रेष्ठको संचालनमा सम्पन्न कोणसभामा एमाले जिल्ला सचिव जागेश्वरी चौधरी, राजमका नेता नेत्र आचार्य, एमाले नेताहरु राजेन्द्र पन्थी, हितराज पन्थी, भरत पोखरेल, जीवलाल अर्याल, घनेन्द्र विक्रम पाण्डे, प्रेम सेन्चुरी, उमा अधिकारी, पम्फावती खनाल, थानेश्वर पौडेल, चक्र थापा, लाल मोहम्मद पठान, डाँसुराम पाण्डे, लगायतले र्यालीको नेतृत्व गरेका थिए ।




















प्रतिक्रिया