
गुल्मी, ७ मंसिर । छोराको आशमा पाँच छोरी जन्माएकी गुल्मी पुर्कोटदह गाविसकी एक महिलाको सुत्केरी अवस्थामै मृत्यु भएको छ । सुत्केरी भएको दुई सातामै आमाको ज्यान गएपछि दुई छोरी किरिया बसेका छन् ।
पुर्कोट दह– १ का दुर्गाप्रसाद भुसालकी पत्नी दुर्गा कुमारीको मृत्यु भएपछि किरियामा बसेका दुई छोरीले दागबत्ती पनि दिएका हुन् । २६ वर्षकी दुर्गा कुमारीले कात्तिक २० गते पाँचौं सन्तानको रुपमा छोरी नै जन्माएकी थिइन् ।
सुत्केरी भएको तीन दिनमै बिरामी भएकी उनको मंसिर ३ गते उपचारको क्रममा मृत्यु भएको थियो । स्थानीय बासिन्दाका अनुसार, प्रसूति अवस्थामा पक्षघातले समेत थलापारेपछि उनकोे ज्यान गएको हो । दुर्गाकुमारीका १३ वर्षकी छोरी सङ्गिता र ११ वर्षकी रमिता किरिया बसेका छन् । आठ र ६ वर्षका अरु दुई छोरीलाई भने सानै भएको कारणले किरियामा राखिएको छैन् ।
गाउँलेकै सल्लाहअनुसार दुर्गाकुमारीका श्रीमान भने किरिया बसेनन् । युवा अवस्थामै श्रीमती गुमाएकी कारण फेरि अर्को बिहेबारी गर्नुपर्ने भन्दै उनले किरिया नबसेको बताइएको छ ।
जीवनको अन्तिम क्षणमा दुर्गाले जन्माएकी नाबालिक छोरीलाई भने सिर्सेनी गाविस– ९ का विश्व भुसालले धर्मछोरी बानाएर पाल्न लगेका छन् ।
आर्थिक अभावका कारण उनलाई उपचार गर्न नलगिए पनि सिकिस्त अवस्थामा भने अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र त्यहाँबाट बुटवल लगिएको थियो । तर, उपचार खर्च बढी लाग्ने भएपछि परिवारका सदस्यले उनको उपचारमा सहयोग जुटाउन सकेनन् । गाउँलेले पीडित परिवारलाई रकम जुटाउन अभियान चलाएका छन् ।
तस्वीर: रासस















प्रतिक्रिया