काठमाडौँ, १९ भदौ । नेपाल र भारतबीच ऊर्जा विद्युत् व्यापार सम्झौता (पिटिए)मा प्रारम्भिक हस्ताक्षर भएको छ । दुई मुलुकबीच विद्युत् ऊर्जा व्यापार तथा सीमापार प्रसारण लाइनलाई ग्रिडमा जोड्ने सम्झौतामा आज हस्ताक्षर भएको हो ।
नयाँ दिल्लीमा भएको द्विपक्षीय वार्तामा नेपालको तर्फबाट ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री र भारतका तर्फबाट समकक्षी प्रदीपकुमार सिन्हाले हस्ताक्षर गर्नुभएको छ । प्रारम्भिक हस्ताक्षरलाई दुवै देशको मन्त्रिपरिषद्ले पारित गरेपछि कार्यान्वयनमा ल्याइने छ ।
उक्त सम्झौताले द्विपक्षीय मैत्री सम्बन्ध र आपसी विश्वासलाई अभिवृद्धि गर्दै प्रसारण लाइन निर्माण तथा विस्तार गर्ने, विद्युत्लाई अन्तरदेशीय ग्रिडमा जोडी आपसमा विद्युत् व्यापार गर्ने विषयलाई महत्वका साथ सम्बोधन गरेको छ ।
सम्झौताले सरकारी, सार्वजनिक तथा निजी लगानीकर्तालाई सहज व्यापारका लागि सरल वातावरण तयार पार्ने र सहयोग गर्ने छ ।
सम्झौताले ऊर्जा सचिव स्तरीय संयुक्त कार्य समिति र सहसचिव स्तरमा संयुक्त कार्य समूहसमेत बनाउन मार्ग प्रशस्त गरेको छ ।
सो समितिलाई अन्तरदेशीय प्रसारण लाइन निर्माण, प्रसारण प्रविधि, विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) र समयमै आयोजना सम्पन्न गर्नका लागि सहज वातावरण बनाउन सहयोग पु¥याउनेछ ।
सो अवसरमा ऊर्जा मन्त्रालयका सहसचिव केशवध्वज अधिकारी, परराष्ट्र मन्त्रालयका प्रतिनिधि अमृतबहादुर राई, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि डा नरेन्द्रमान श्रेष्ठ, नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी प्रमुख रामचन्द्र पाण्डे, उपकार्यकारी निर्देशक शेरसिंह भाट र भारतीय प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति रहेको थियो ।
नेपाली प्रतिनिधिमण्डलले भारतीय जलस्रोत मन्त्रालयका प्रतिनिधिसँग बहुप्रतिक्षित पञ्चेश्वर विकास प्राधिकरण गठन गर्ने विषयमा छलफल गरेको थियो ।
सो छलफलमा आगामी एक महिनाभित्र प्राधिकरण गठनका सम्बन्धमा पहिलो बैठकको आयोजना गर्ने बारेमा कुराकानी भएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत साउनमा सम्पन्न नेपाल भ्रमणको क्रममा एक वर्षभित्र पञ्चेश्वर प्राधिकरण गठन गर्ने र प्रक्रिया सुरु गर्ने सहमति भएको थियो । रासस














प्रतिक्रिया