काठमाडौं, ६ मंसिर । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले मन्त्रालयका सचिव र सहसचिवहरुसँग संविधान कार्यान्वयनका सन्दर्भमा मन्त्रालयमार्फत हालसम्म भएका काम कारबाहीबारे चासो राख्नुभएको छ ।
सोमबार सिंहदरबारस्थित कार्यालयमा मन्त्री नायकले संविधान कार्यान्वयनका लागि चाहिने आवश्यक कानुन निर्माण लगायतका विषयमा चासो राख्नुभएको हो । मन्त्रालयका सचिव, सहसचिवहरुले मन्त्रालयबाट हालसम्म भएका प्रगती तथा कार्य सम्पादनबारे जानकारी गराएपछि मन्त्री नायकले संविधान कार्यान्वयनका लागि चाहिने आवश्यक कानुन निर्माण कार्यलाई तीव्रता दिन निर्देशन समेत दिनुभएको छ ।
एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने नयाँ संविधानको प्रावधान अनुसार सरकार स्थानीय तहको निर्वाचनमा जुटिरहेको बताउनुहुँदै मन्त्री नायकले स्थानीय तहको निर्वाचनका लागि मन्त्रालयमार्फत गर्नुपर्ने कुनै पनि कामकारबाही बाँकी नराख्न निर्देशन दिनुभयो । मन्त्री नायकले मन्त्रालयका कर्मचारीहरुलाई संविधान कार्यान्वयनका सवालमा गम्भिर ढंगले अघि बढ्न आग्रह समेत निर्देशन दिनुभयो ।
उहाँले संविधान कार्यान्वयनको लागि आवश्यक वातावरण निर्माणका लागि सातै वटा प्रदेशमा जनचेतनामुलक कार्यक्रम लैजानुपर्ने बताउनुभएको थियो । मन्त्री नायकको प्रस्ताव अनुसार मन्त्रालयले सातै वटा प्रदेशमा संविधान कार्यान्वयनलाई प्रभावकारिता बनाउन निम्ति अन्तरक्रिया गर्ने भएको छ ।
मन्त्रालयले सातै प्रदेशमा जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी प्रदेश स्तरीय कार्यक्रम, जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी स्थानीय स्तरीय कार्यक्रम र संविधान र संविधानका अन्तरवस्तु सम्बन्धी प्रदेश तहको अन्तरक्रिया गर्ने भएको छ ।
मन्त्रालयले मंसिरभित्र प्रदेश नम्बर सात र दुईमा उक्त कार्यक्रमको आयोजना गर्ने भएको छ ।













प्रतिक्रिया