ललितपुर, ६ मंसिर । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पुरानो विचार बोकेर नयाँ राजनीतिक शक्ति निर्माण नहुने बताउनु भएको छ ।
ललितपुरमा आयोजित कार्यक्रममा श्रेष्ठले विचार, सङ्गठन, सङ्घर्ष र कार्य पद्धति हरेक क्षेत्रमा आफ्नो अलग विकल्प हुनु पर्ने बताउनुभयो । अहिलेको राज्य पुनर्संरचनामा विवादको चुरो विषय सङ्घीयतालाई संरचनाको रूपमा मात्र हेर्ने कि सिद्धान्त वा वादको रूपमा हेर्ने भन्ने रहेको उहाँले बताउनुभयो ।
उहाँले नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरूले अगाडि सारेको लोकतान्त्रिक समाजवाद र वहुदलीय वा नयाँ जनवाद नेपालका लागि उपयुक्त नभएकाले त्यसको बिकल्पको रूपमा संघीय समाजवादी फोरम अगाडि आएको बताउनुभयो ।
अहिलेको संविधान संशोधन सम्बन्धी विवादका सम्बन्धमा एमाले अध्यक्ष केपी ओलीले संविधान कार्यान्वयन नगरी संविधान संशोधनको विदेशी एजेण्डा बोक्नु राष्ट्रघाति भएको उल्लेख गर्नुभयो । ‘यदि यो कुरा सत्य हो भने केपी ओली स्वयम् प्रधानमन्त्री भएको बेला संविधान संशोधनको तथाकथित विदेशी एजेण्डा बोक्ने र संविधान कार्यान्वयन गर्न नसकी एकतर्फी रूपमा संविधानको पहिलो संशोधन गर्ने ओली नै पहिलो राष्ट्रघाति हुन्’, उनले भने ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा नेवाः प्रदेश इञ्चार्ज कृष्णबहादुर घःजु तथा केन्द्रीय सदस्य पुष्पराज राजकर्णिकारले ललितपरको पार्टी कामलाई व्यवस्थित गर्न र पहिचानको मुद्दालाई स्थापित गर्न समितिले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।
पार्टी उपाध्यक्ष रामबहादुर स्याङ्ताङले स्वागत गरेको उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य लीला सिटौला, ताम्सालिङ प्रदेश समितिका उपाध्यक्ष आशमान तामाङ, नेवाः प्रदेश समितिका सचिव चन्द्र महर्जन लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो ।
यसैवीच, ललितपुर जिल्ला कार्यसमिति कृष्णभक्त डंगोलको अध्यक्षतामा पुनर्गठन भएको छ । कार्यसमिति ३१ सदस्यीय रहेको छ ।












प्रतिक्रिया