बुटवल, ६ मंसिर । दुर्घटना न्यूनीकरणका लागि हरेक नागरिकलाई सचेत गराई यातायात क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने सरोकारवाला निकायका प्रतिनिधिहरुले बताएका छन् । राज्यका सबै निकाय जिम्मेवार बनेर सडकलाई सुरक्षित बनाउनु पर्ने उनीहरुको भनाई छ ।
सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृतिमा सुरक्षित यात्रा अभियान नेपालको आयोजना तथा नेपाल अटोमोबाईल्स स्पोर्टस् एशोसिएसन नासाको संयोजनमा बुटवलमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले दुर्घटना न्युनीकरण अभियानमा सबैको सहभागिता आवश्यक हुने बताए ।
सडक सम्बन्धी बनाइएका ऐन, नियमहरु व्यवहारमा कार्यान्वयन नहुँदा समस्या रहेको उनीहरुको भनाई छ । सडकमा हिड्ने पैदल यात्रीको अधिकारलाई सुरक्षित गर्नका लागि ऐन, नियम र ट्राफिक नियम पालना गर्नुपर्ने बताए । मानिसको बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्नका लागि सडक यात्रामा सचेत हुनुपर्नेमा सहभागिहरुको जोड थियो ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले सडक दुर्घटनालाई न्यूनीकरण गर्दै शून्यमा झार्न सबैको पहल आवश्यक हुने बताउनुभयो । उहाँले क्रमशः मानिसको सोच र व्यवहारमा परिवर्तन आएको बताउँदै स्तरीय संस्कृतिको विकास गर्न जरुरी रहेको बताउनुभयो ।
योजनावद्ध रुपमा दुर्घटना न्यूनीकरणमा लाग्नुपर्ने बताउंदै ट्राफिक पद्धतिसहितको सडक बनाउनु पर्ने बताउनुभयो ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक अवदेश विष्टले ट्राफिक प्रहरी एक्लैले दुर्घटना न्यूनीकरण गर्न नसक्ने बताउँदै सबै निकाय जिम्मेवारी बन्नुपर्ने बताउनुभयो । उहाँले सडकलाई सुरक्षित बनाउन सडक, खानेपानी, दुरसञ्चार र यातायात व्यवसायी जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले यातायात क्षेत्रको समस्यालाई बुझाउन नसकिएको बताउनुभयो । दुर्घटना न्यूनीकरणका उपायहरु खोजी गर्नुपर्ने बताउँदै एकअर्काबीच दोषारोपण गरेर कोही उम्कन नहुने बताउनुभयो ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रानाभाटले सडक सुरक्षाका लागि छुट्टै यातायात मन्त्रालय स्थापना गर्नुपर्ने बताउनुभयो । उहांले सडक र यातायात क्षेत्रको विषयलाई पाठ्यक्रममा राख्नुपर्ने बताउंदै कानुनलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।












प्रतिक्रिया