रुपन्देही, ५ मंसिर । किशोरी तथा युवतीलाई ललाइफकाइ अवैध मार्ग हुँदै तेस्रो मुलुक लैजान लागेका दुईजना विरुद्ध जिल्ला अदालत रूपन्देहीमा मानव बेचबिखन तथा ओसारपसार अभियोगमा मुद्दा दर्ता भएको छ ।
सिन्धुपाल्चोक, मालादेवीस्थानका केशव श्रेष्ठ (अविनाश) र बागलुङका वेदमणि कँडेलविरुद्ध मानव बेचबिखन तथा ओसारपसार अभियोगमा मुद्दा दायर भएको हो । यी दुई अभियुक्तले भैरहवाको बेलहिया–सुनौली नाका हुँदै सुनसरी, झापा, गोरखा, कास्की, सिन्धुली र रूपन्देहीका गरी पाँचजना किशोरीलाई सीमा पार गराउन लागेका थिए । ती अभियुक्तका योजनाअनुसार भारत जान लागेका किशोरीहरूलाई बेलहियामा रहेको मानव बेचबिखनविरुद्ध कार्यरत संस्था के.आई. नेपालले नियन्त्रणमा लिएको हो ।
सोधपुछको क्रममा किशोरीहरू अवैध बाटो हुँदै घरायसी काम गर्न तेस्रो मुलुक जान लागेको खुलेपछि थप अनुसन्धानका लागि संस्थाले किशोरीहरूलाई प्रहरीको जिम्मा लगाएको केआई नेपाल रूपन्देहीकी संयोजक उषा गुरुङ्गले बताइन् । काठमाडौका विभिन्न होटल तथा घरमै काम गर्दै आएका ती किशोरीहरू २० देखी २६ वर्षका छन् । उद्धार गरिएका ती युवतीहरुलाई सोधपुछ गर्दा जागिरको प्रलोभनमा ( फ्रि भिसा फ्रि टिकट ) बिना लगानी मासिक ३५ हजार तलब दिने भनी किर्गीस्तान जान लागेको खुलेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब निरीक्षक डेलिम्बराज घिमिरेले बताउनुभयो ।
किशोरीहरूको उद्धार भए पनि दलालहरू भने फरार छन् । किशोरीहरूको जाहेरीका आधारमा अविनाश र कँडेलविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दर्ता गरी रूपन्देही प्रहरीले उनीहरूको खोजी सुरु गरेको छ । यी किशोरीमध्ये चारजनालाई अविनाशले काठमाडौंबाट कारमा बुटवल ल्याएका थिए ।
बुटवल बसपार्कमा रूपन्देहीका दुई किशोरीलाई समेत बोलाएर अविनाशले पालैपालो गरी बजार जान भन्दै भारतको सुनौली जान अह्राएर उनी अर्कै गाडीमा गएको बयान किशोरीहरूले दिएका छन् । किशोरीहरूलाई बेलहियाबाट सुनौली पार गराउन नसकेपछि दलालहरू फरार भएको र किशोरीहरूबाट बरामद भएको कँडेलको राहदानी तथा बयानका आधारमा प्रहरीको सहयोगमा मुद्दा दर्ता गरी किशोरीहरूलाई अभिभावकको जिम्मा लगाइएको संयोजक गुरुङले बताइन् ।
के.आई.नेपाल रुपन्देही शाखाले पछिल्लो एक महिनामा १६ जना चेलीलाई सुनौलीकोे बेलहीया नाकाबाट उद्धार गरेको के.आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिनुभयो ।












प्रतिक्रिया