काठमाडौं, ५ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवम् राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले प्रधानन्यायाधीशबाट आएको पछिल्लो अभिव्यक्तिको कडा शब्दमा आपत्ति जनाउनु भएको छ ।
महासचिव झाले समावेशी, समानुपातिक तथा मधेसका महिलाका विषयमा प्रधानन्यायाधीश सुशीला कार्कीले दिएको अभिव्यक्तिको विरोध गर्नुभएको हो ।
‘प्रधानन्यायाधीश जस्तो गरिमामय पदमा बसेको व्यक्तिले बोल्दा के प्रभाव पर्छ भन्ने कुराको ध्यान राख्नु पर्छ’, उहाँले भन्नुभयो, ‘मधेसका माहिला र समावेशिताका विषयमा आएको अभिव्यक्ति स्वीकार्य छैन ।’
दुई दिन अगाडि प्रधानन्यायाधीश कार्कीले सप्तरीको राजविराजमा भएको कार्यक्रममा मधेसी महिला र समानुपातिक तथा समावेशितासम्बन्धी विषयमा दिएको अभिव्यक्तिको मधेस केन्द्रित दल र नेताहरूले विरोध गरिरहेका छन् ।
समावेशिता र समानुपातिकका नाममा आलाकाँचालाई नियुक्त गर्नु हुँदैन भन्ने प्रधानन्यायाधीशको अभिव्यक्तिको खण्डन गर्दै झाले भन्नुभयो, ‘उहाँलाई संविधान विपरित बोल्ने अधिकार छैन । यस्तो अभिव्यक्ति दिने प्रधानन्यायाधीशलाई किन महाअभियोग नलगाउने ?’












प्रतिक्रिया