– अमरराज पुन
रुकुम, २ मंसिर । नेपाल बैंक लिमिटेड जिल्ला शाखा रुकुमले पहिलोपटक अटोमेटिक टेलर मेसिन (एटिएम) भित्रिए संगै अब जिल्लामा एटिएम सेवा सुरु हुने भएको छ ।
आज मात्र ल्याईएको एटिएम सेवा सुचारु हुन भने करिब १० दिन लाग्ने नेपाल बैंक लिमिटेड जिल्ला शाखा कार्यालय रुकुमका सहायक प्रमुख शसिराम केसीले जानकारी दिनुभयो । जिल्लामा एटिएम सेवा सुचारु हुने बित्तिकै अब नेपाल बैंकको एटिएम कार्ड भएकाहरुले तत्काल एटिएम सेवा लिन सकिने भएको छ भने अन्य ईच्छुक सेवाग्राही ले चाहिँ तत्काल एटिएम कार्ड बनाउन सक्ने भएका छन् ।
एटिएम सेवा सुरुवात भएसंगै बैंकले मोबाईल एप्लिेकेशन मार्फत पनि मोबाईल बैंकिङ्ग सेवा सुरु गर्ने भएको छ । तर नेपाल बैंकको एटिएम सेवा लिन चाहने सेवाग्राहीले भने मोबाईल बैंकिङ्ग सेवा अनिवार्य लिनुपर्ने बैंकका सहायक प्रमुख केसीले बताउनुभयो ।
साथै उहाँका अनुसार नेपाल बैंक लिमिटेडको भर्खरै सम्पन्न ८०औं वार्षिक उत्सवका अवसरमा रुकुममा रहेको नेपाल बैंक लिमिटेडलाई मोबाईल बैंकिङ्ग सेवा प्रदान गरिएको हो । बैंकको निक्षेप बढी भएको र बैंकमा सेवा लिन र दिन गाह्रो भएकाले समेत नेपाल बैंकले एटिएम सेवा सुचारु ढिलै भएपनि रुकुममा सुरु गरेको छ । यसअघि बैंकमा एटिएम सेवा उपलब्ध नहँुदा बैंकबाट सेवालिने थुप्रै सेवाग्राहीहरु मर्कामा पर्ने गरेका थिए ।
लामो समय देखि रुकुमको नेपाल बैंक लिमिटेडमा एटिएमको व्यवस्था नहुंदा कतिपय सेवाग्राहीले जिल्लाका अन्य प्राईभेट बैंकमा एटिएमको सेवा लिने गरेका थिए । तर जिल्लामा पहिलोपटक नेपाल बैंकले एटिएम सेवा सुरु गर्ने भएपछि जिल्लाका सबै सेवाग्राहीहरु निकै खुशी भएका छन् ।
दशैं तिहार जस्ता ठूला चाडपर्व आउन लाग्दा नेपाल बैंक रुकुमको शाखामा सेवा लिने सेवाग्राहीको दिनभर भिड लाग्ने गर्दथ्यो । तर नेपाल बैंकले धेरै समयपछि रुुकुम शाखामा पनि एटिएम सेवाको व्यवस्था गरिदिंदा आम रुकुमबासीहरुलाई अब बैंकिङ्ग कारोबारमा सहजता हुने अनुमान गरिएको छ ।
















प्रतिक्रिया