२ कार्तिक २०८३, सोमबार

खाद्यान्नको माग गर्दै बझाङबासी सिंहदरबारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

news-photo-bajhang-delication-2
बझाङका जनप्रतिनिधिसहित आपूर्तिमन्त्री दीपक बोहरा समक्ष आफ्नो समस्या राख्दै पीडित क्षेत्रका बासिन्दाहरु ।

काठमाडौं, १ मंसिर । गाउँमा भोकमरीको अवस्था सिर्जना भएको भन्दै तत्काल खाद्यान्नको ब्यवस्था गरिदिन माग गर्दै बझाङ जिल्लाका चार गाविसका स्थानीय सिंहदरबारमा आएका छन् ।

बझाङबाट तीन दिनको लामो यात्रा गरेर राजधानी आएका उनीहरुले आज बुधबार सिंहदरबारमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे र आपूर्ति मन्त्री दीपक बोहरालाई भेटेर गाउँमा भोकमरी भएको भन्दै तत्काल खाद्यान्नको ब्यवस्था गरिदिन आग्रह गरेका हुन् ।

बझाङको भातेखोला, मष्टा, कोटदेबल र रिलु गाविसका स्थानीय तत्काल खाद्यान्नको ब्यवस्था गरिदिन भन्दै सिंहदरबार आएका हुन् । उनीहरुले धान, कोदो, जौं, मकै लगायत बर्खेबालीमा डडुवारोग लागेर पूरै बालीनाली सखाप भएको र हिउँदेबाली पनि खडेरीका कारण नउम्रेकोले गाउँमा भोकमरीको अवस्था सिर्जना भएको बताएका छन् ।

खेतबारीमा लगाएको अन्नबाली डडुवारोगले सखाप भयो । यतिबेला गाउँमा ठूलै भोकमरीको अवस्था उत्पन्न भएको छ । गाउँलेहरुलाई साझबिहानको छाक कसरी टार्ने भन्ने चिन्ता छ । हातमुख जोर्न गाउँमै केही सिप नलागेपछि बाध्य भई आफ्नो समस्या राख्न सिंहदरबारमा आएको भातेखोला गाविसका पूर्वअध्यक्ष गोपाल कठायतले बताए ।

बझाङ जिल्लाका जनप्रतिनिधिसहित मन्त्री पाण्डे र बोहरालाई भेट्न गएका उनीहरुले तत्कालै पीडित जनतालाई साझबिहानको छाक टार्न खाद्यान्न उपलब्ध र कामका लागि खाद्य कार्यक्रम लागु गरिदिन मन्त्रीद्वयलाई माग गरेका छन् ।

बर्खेबालीमा रोग लागेका कारण बाली भित्र्याउन पाएनन् । फेरी खडेरीका कारण हिउँदेबाली पनि नउम्रेकाले त्यहाँका जनतालाई चरम खाद्यान्न संकट भई पलायन हुने अवस्था रहेको बझाङ सांसद अफिलाल ओखेडाले बताए ।

उनले यथाशक्य पीडित जनतालाई राहतस्वरुप खाद्यान्न उपलब्ध गराउन सम्बन्धी निकायलाई अनुरोध गरे ।

जिल्ला दैबीप्रकोप उद्दार तथा राहत समिति, जिल्ला कृषि विकास कार्यालय, जिल्ला विकास समितिले पनि उल्लेखित गाविसमा खाद्यान्न अभाव भएको भन्दै तत्काल खाद्यान्न उपलब्ध गराउनुपर्ने निर्णय सहित सम्बन्धीत मन्त्रालयमा सिफारिस गरेका छन् ।

प्रभावित क्षेत्रका बासिन्दाले भातेखोलामा चार हजार जनसंख्यालाई ६ हजार क्वीन्टल, मष्टामा तीन हजार जनसंख्यालाई २ हजार क्वीन्टल, कोटदेबलमा तीन हजार ५ सय जनसंख्यालाई ५ हजार क्वीन्टल र रिलुमा साढे पाँच हजार जनसंख्यालाई २ हजार क्वीन्टल चामल उपलब्ध गराई दिन माग गरेका छन् ।

उनीहरुको माग सुनेपछि मन्त्रीद्वयले आफूले तत्काल के कसरी हुन्छ खाद्यान्न उपलब्ध गराउने पहल चाल्ने बताएका छन् ।