पाँचथर, २८ कात्तिक । पूर्वाञ्चललाई आवश्यक विद्युत तीन जिल्ला पाँचथर, इलाम र ताप्लेजुङमा उत्पादनको क्रममा छ ।
पाँचथरको हेवाँ, फेमे र इवाखोला, ताप्लेजुङको मेवाखोला, फावाखोला र दुवै जिल्लाको सीमा हुँदै बग्ने कावेली नदि तथा इलामको पुवाखोलामा विद्युत उत्पादनको क्रममा रहेको हो ।
तीन जिल्लामा उत्पादनको क्रममा रहेको १ सय २ मेगावाट विद्युतले पूर्वाञ्चलको आवश्यकता पूर्ती गर्नेछ । विद्युत आगामी ३ वर्ष भित्रमा उत्पादन गर्ने गरी जलविद्युत कम्पनीहरुले आयोजनाको काम गरिरहेका छन् । इलामको गोदकमा हिमाल दोलाखा हाइड्रोपावर कम्पनीले ४ मेगावाट, क्यास्केटबाट ८ तथा जोगामाई हाइड्रो पावरले ७ दशमलव ५,अप्पर माई परियोजनाले १७, जोशी हाइड्रोपावर कम्पनीले पुवाखोलाबाट ३ र तल्लो पुवाखोला आयोजनाबाट ४ मेगावाट विद्युत उत्पादन गर्न लागिएको छ ।
पाँचथरमा माथिल्लो हेवाँखोलाबाट १५, तल्लो हेवाँखोलाबाट २२ दशमलव ५, इवाखोलाबाट १० मेगावाट तथा कावेली ए बाट ३८ र वि बाट २५ मेगावाट विद्युत उत्पादनको क्रममा छ । ताप्लेजुङको फावाखोलाबाट ५ र मेवाखोलाबाट १३ दशमलव ५ मेगावाट विद्युत उत्पादन गरी यसै वर्ष केन्द्रिय प्रशारण लाइनमा जडान गरिने भएको छ । अधिकाँश आयोजनाहरुले यसैवर्षको अन्तिमसम्मा विद्युत उत्पादन गरेर केन्द्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी गरेका छन् । केही आयोजनाहरु निर्माणको काममा छन् ।
यसैवीच जल तथा उर्जा क्षेत्रका अभियान्ता समेत रहेका एमाले पूर्व सांसद वसन्तकुमार नेम्बाङले अव सरकारले जलविद्युत उत्पादनको क्षत्रेमा लगानी बढाउनु पर्नेमा जोड दिए । जनताको सहभागितामा सरकारको संलग्नता रहने गरी देशी विदेशी निजी कम्पनीहरुलाई निर्माणको काम दिएर भए पनि जलविद्युत उत्पादन गर्नु पर्ने उनको भनाई छ । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासँघका अध्यक्ष नारायण ज्ञवालीले पनि जलविद्युत क्षेत्रमा लगानी सहज बनाउन नीति आवश्यक भएको बताएका छन ।
उनले जनताको सहभागितामा अत्यन्तै न्यून आयोजनाहरु निर्माण हुने गरेको भन्दै यस्तो स्थितीलाई टुङ्ग्याउनु पर्ने उनको धारणा छ । उनले ग्रामिण विद्युतीकरण कार्यक्रम मार्फत देशको ग्रामिण इलाकामा विद्युतीकरण अभियानलाई तीव्र गति दिनु पर्ने पनि बताएका हून ।
सामुदायिक ग्रामिण विद्युतीकरण निर्देशक समितिका सदस्य समेत रहेका ज्ञवालीले यसवर्ष देशका विभिन्न जिल्लामा विद्युतीकरणका लागि विनियोजित कूल ९३ करोड बजेटमध्ये पाँचथरमा मात्रै ६३ करोड रुपैयाँ सहितको कार्यक्रम स्वीकृत भएको जानकारी दिए ।















प्रतिक्रिया