पोखरा, २८ कात्तिक । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग धन्दाको विकास गरी युवालाई रोजगारी प्रदान गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
पत्रकारसँग आज भएको भेटघाटमा उहाँले देशमा उद्योग व्यवसायको अभावका कारण रोजगारीको खोजीमा युवा विदेशिनुपरेको बाध्यात्मक अवस्था अन्त्य गर्न उद्योग स्थापना गरेर उनीहरूलाई स्वदेशमा नै अवसर प्रदान गर्नु आवश्यक रहेको बताउनुभयो ।
बन्द उद्योग सञ्चालनका लागि सरकारले कदम चालेको चर्चा गर्दै मन्त्री जोशीले साना घरेलु कुटिर उद्योगको विकास गर्दै ठूला उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
“सरकारले बन्द भएकामध्ये चल्नसक्ने उद्योगलाई चलाउने र नचल्ने उद्योगलाई व्यवस्थापन गर्ने सोच अघि बढाएको छ,” उहाँले भन्नुभयो,“ उद्योगको विकासका साथै खनिज पदार्थको सम्भाव्यताका लागि सरकारले गृहकार्य गरिरहेको छ ।”
हेटौँंडा कपडा उद्योगलाई सञ्चालनमा ल्याएर पहिलो चरणमा नेपाली सेना तथा प्रहरीका लागि कपडा उपलब्ध गराउने लक्ष्य राखिएको बताउँदै उहाँले बुटवल धागो कारखानालाई नीजी क्षेत्रलाई भाडामा दिनेबारे छलफल भइरहेको उल्लेख गर्नुभयो ।
गोरखकाली रबर उद्योगमा मासिक एक करोड रुपैयाँ घाटा भइरहेका कारण त्यसको कसरी व्यवस्थापन गर्ने भन्नेबारे सरकार गम्भीर बनेको बताउँदै उहाँले वीरगन्ज चिनी कारखाना चलाउने सम्बन्धमा पनि गृहकार्य भएको जानकारी दिनुभयो ।
सरकार संविधान संशोधनको अन्तिम चरणमा रहेको बताउँदै उहाँले संविधान कार्यान्वयन मार्फत प्राप्त उपलब्धिलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । रासस
















प्रतिक्रिया