१ कार्तिक २०८३, आइतबार

‘रक्सी खाएपछि…’ चेतनामूलक सडक नाटक प्रदर्शन

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dscn9071– झलक पाली

डोटी, २७ कात्तिक । डोटीको बन्लेक गाउँ विकास समितिमा चेतनामूलक सडक नाटक ‘रक्सी खाएपछि…’ को प्रदर्शन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटी अन्तरगत रहेको महिला तथा बालबालिका सेवा केन्द्रको आयोजनामा कालिकास्थान–२, साउनकाँडामा रहेको नवज्योती बाल क्लबका कलाकारहरुले उक्त नाटक प्रदर्शन गरेका हुन् ।

सडक नाटक विशेष गरी पुरुष प्रधान समाजमा महिलामाथि हुने लैङ्गिक हिंसा अन्तरगत पनि घरेलु हिंसामा आधारित रहेको थियो ।

एक महिलाको कोखबाट सन्तानका रुपमा छोरा नजन्मिएपछि ति महिलाले खेप्नु परेको पीडा, श्रीमानले जहिल्यै रक्सि खाएर श्रीमतीलाई कुटपिट एवं हिंसात्मक व्यवहार गर्ने, छोरीहरुलाई विद्यालयको पढाई खर्च नदिने, रक्सि पसलमा उदारो खाएको पैंसा माग्न आएका भट्टी पसलकी साउनी पनि तिनै महिला कहाँ पुग्ने, भट्टीकी साउनीसँग जिस्किने र ति महिलालाई गलत नजरियाले हेर्नेजस्ता गलत पक्ष उक्त नाटकमा व्यङ्ग्यात्मक शैलिमा चित्रण गरिएको थियो ।

यिनै हिंसाका कारण वेदना सहन नसकी ति महिलाले विष सेवन गरी मर्न खोजेको तर बेलैमा उनी छोरीहरुले देखेपछि स्थानीयबासिन्दाको सहयोगमा उपचार गरेपछि स्थानीयले ति श्रीमानलाई सम्झाई बुझाई गरेपछि उनि सुध्रिएको सन्देश नाटकले समेटेको थियो ।

यसभन्दा पहिले यहि कात्र्तिक ९ गते कालिकास्थान गाविसको मौवा नगरदहमा पनि प्रदर्शन गरिएको नवज्योती बाल क्लबका सचिव निर्मला साउँदले जानकारी दिईन् ।

सानै उमेरका बालबालिकाहरुले निकै सन्देशमूलक सडक नाटक प्रदर्शन गरेको भन्दै राष्ट्रिय जनमोर्चाका बन्लेक गाविस संयोजक एवं समाजसेवी नरेन्द्र बिष्टले नगद ८ हजार रुपैंया उक्त बालक्लबलाई प्रदान गरेका थिए ।

पछिल्लो समयमा महिला तथा बालबालिका सेवा केन्द्रले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनिकरणका लागि जिल्लाका विभिन्न क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको सेवा केन्द्रका उपाध्यक्ष एवं पत्रकार मिलन परियारले बताए ।

गाउँ तहमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरि सन्देश फैलाएको भन्दै स्थानीय राजनीतिक दलका प्रतिनिधीहरु र गाविस सचिवले आयोजक तथा नाटक प्रदर्शन गर्ने बाल क्लबलाई धन्यवाद दिएका थिए ।

महिला तथा बालबालिका सेवा केन्द्र अन्तरगत बन्लेक गाविसमा गठित उप–सञ्जालका अध्यक्ष लक्ष्मी मल्लिग मलायरको अध्यक्षता तथा गाविस सचिव कर्ण बहादुर धामीको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त सडक नाटक प्रदर्शनी कार्यक्रममा दुई सय २८ जनाको सहभागिता रहेको थियो ।