१ कार्तिक २०८३, आइतबार

पहिलोपटक जिल्लामै छायांकन भएको देउडा म्यूजिक भिडियो विमोचन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuda-music-video

बाजुरा । “हाम्रो सुदूर पश्चिम राम्रो सुदूरपश्चिम” देउडा गीतको म्यूजिक भिडियो विमोचन गरिएको छ । जिल्ला भित्र कै रमणीय स्थल र कला सँस्कृति झल्किनेगरी निर्माण गरिएको म्यूजिक भिडियोको बिहिबार विमोचन गरिएको छ ।

भिडियोको निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले विमोचन गरेका हुन् । गायक नरबहादुर विश्वकर्माको भिडियोको एल्बम कपी सहीत दृश्य चित्र समेत देखाएर सार्वजनिक गरिएको थियो । ८ मिनेटको भिडियोमा बाजुरा जिल्ला सदमुकाम मार्तडी आसपास क्षेत्रका दृश्यलाई कैद गरिएको निर्देशक प्रमोद डिसीले बताए ।

डिसी आफै पप तथा आधुनिक गायक हुन् । एक दर्जन बढी गीतमा स्वर दिएका प्रमोदले भिडियोमा फरक पन दिन बाजुरा मै भिडियो सुटीङ गरेको बताए । भिडियोमा जिल्लाको प्रमुख साँस्कृतिक पर्व भुवा, अनन्ते, गौरा सहीत बञ्चे बाजा नाच समेत समावेश गरिएको छ ।

गीतको शब्दले नै स्थानीय कला सँस्कृति, मेला पर्व र पयटकीय स्थलहरुको वर्णन गरेकोले भिडियोमा विशुद्ध बाजुराको भेषभुषा रहन सहन र भाषा सँस्कृतिलाई समावेश गरिएको निर्माता एवं गायक नरबहादुर विश्वकर्माले बताए । विश्वकर्माको यो अडियो तेस्रो र घिडियो पहिलो एल्बम हो ।

यस अघि प्रबासको जीवन, हाम्रो लोक पप एल्बम बजारमा ल्याईसकेका छन् । एल्बम तेस्रो भएपनि गीत १७ वटा पुगेको उनले भने । बाजुरामै पुरै भिडियो छायाकंन गरिएको यो नै पहिलो गीत हो, सम्पादनको भूमिकामा रहेका प्रेम विकले बताए ।

गीतमा सुदूरपश्चिमको कला सँस्कृति सँगै संभावना र प्रमुख गन्तव्य र धार्मीक तथा पर्यटकीय स्थलको वर्णन गरिएको छ । सुदूरपश्चिमलाई कला सँस्कृति र सभ्यताको खानीका रुपमा चित्रण गरिएको छ । गीतले बाजुराको मौलिक पहिचान र स्थानीय कला सँस्कृति भेषभुषाको प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले बताए ।

कलाकारदेखि निर्देशक, क्यामराम पर्सन सबै स्थानीय नै हुन, अरुका लागि गतिलो सिकाई हुने शाहीले भने । भिडियोमा निर्देशक प्रमोज डिसी, क्यामरा राजेश कुमार, अभिनय सरिता विक र सुरेन्द्र विक सबै जना स्थानीय नै हुन् । अन्य दृश्यका लागि भुवाचाली, देउडा, अनन्ते, गौरा खेलमा समेत स्थानीयलाई नै प्रयोग गरिएको छ ।

चर्चित संगीत एरेञ्जर विनोद बाजुरालीको शब्द तथा संगीत रहेको गीतमा नरबहादुर विश्कर्मा र स्मृति शाहीको स्वर छ । २०४८ सालबाट गायन कला सुरु गरेका विश्वकर्माले आर्थिक अभावले २० वर्षपछि मात्र म्यूजिक भिडियो बजारमा ल्याएको बताए ।

सामान्य पारिश्रमिक दिएर पनि स्थानीय कलाकार उपलब्ध भएको र कम लगानीमै भिडियो निर्माण हुने देखेर आँट गरेको उनले बताए । पछिल्लो समय देउडा गीतको बजार खस्कीदो अवस्थामा छ । बजारमा आधुनिक र विदेशी गीत संगीतले छाएपछि देउडा गीत निकाल्नेक्रम घटिरहेको छ । सुदूर तथा मध्यपश्चिमको मौलिक पहिचानमा रुपमा रहेको देउडा गीतलाई संरक्षण गर्न नै भिडियो निकाल्ने प्रयास गरेको बताए ।

भिडियो मालिका उमाविको अगुवा श्रोत केन्द्रमा एक कार्यक्रमका बीच विमोचन गरिएको हो । भिडियोमा अभियन गर्ने कलाकारकै अभिभावक, आफन्तका बीच विमोचन गरिएको थियो । कार्यक्रममा गायक तथा निर्देशक प्रमोद डिसी, नरबहादुर विश्वकर्माले गीत समेत गाएका थिए । कार्यक्रम बाजुरा साँस्कृतिक प्रतिष्ठानले आयोजना गरेको थियो ।