काठमाडौँ, १८ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र अनियमितताका सम्बन्धमा विभिन्न विश्वविद्यालयमा छापामारी पदाधिकारीलाई हिरासतमा लिने गरेको कार्यप्रति उपकुलपतिहरूले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष र सदस्य सचिवसहित विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूले कुलपति समेत रहनुभएका प्रधानमन्त्री कोइरालालाई आयोगको कार्यले काम गर्ने जाँगर घटेको गुनासो गरेका हुन् ।
भेटमा उपकुलपतिहरूले अख्तियार जस्तो गरिमामय संवैधानिक निकायले प्राज्ञिक क्षेत्रको गरिमा र मर्यादा गर्न नसकेको र बेरुजु र भ्रष्टाचारको बारेमा अन्तरसमेत नबुझेका अनुसन्धान अधिकृतहरू खटाएर विश्वविद्यालयको गरिमामा आँच पुग्ने गरी काम कारबाही गरेको गुनासो गरेको अनुदान आयोगका अध्यक्ष परासर कोइरालाले जानकारी दिनुभयो ।
अनुसन्धान अधिकृतहरूले प्राज्ञहरूको अपमान गरेको र आफ्ना आर्थिक र प्रशासनिक नियमअनुरुप काम गरेका स्वायत्त संस्थामा पनि निजामती सेवाको जस्तो परिपाटी खोजेर हतास बनाउने गरेको उपकुलपतिहरूले प्रधानमन्त्री कोइरालासमक्ष गुनासो गरेको उहाँले बताउनुभयो ।
भेटमा प्रधानमन्त्री कोइरालाले विश्वविद्यालय जस्ता शैक्षिक र प्राज्ञिक संस्थाहरूमा आर्थिक अनियमितता र भ्रष्टाचारका समाचार सुन्नुपर्दा निकै पीडा अनुभव भएको बताउनुभयो ।
उहाँले आर्थिक अनियमितता र भ्रष्टाचारको मामलामा कसैले कसैलाई बचाउन नसक्ने यथार्थबोध गराउदै भन्नुभयो, “मैले गल्ती गरे भने म पनि सजायको भागीदार बन्नुपर्दछ ।”
उहाँले आफूले मन्त्रीहरूलाई पनि भ्रष्टाचार र अनियमितताको मामलाका बारेमा स्पष्ट निर्देशन दिएको बताउदै भन्नुभयो, “कोही गए भने मलाइ नभन्नुहोला । म सत्तामा जसरी पनि बसिराख्ने र टिकी राख्ने भनेर आएको होइन ।”
प्रधानमन्त्री कोइरालाले प्राज्ञिक क्षेत्रमा आएका अनियमितताका विषयले सबैलाई निरास बनाउने भएकोले असल काम गर्नेलाई प्रोत्साहित गर्न आवश्यक भएकोमा जोड दिनुभयो ।
उहाँले अख्तियार संवैधानिक आयोग भएको र उसको काममा हस्तक्षेत गर्न नमिल्ने जानकारी गराउनुहुँदै विश्वविद्यालयमा अख्तियारले गरेको कार्यले अन्याय परेको भए त्यसबारेमा बुझ्ने बताउनुभयो । रासस
















प्रतिक्रिया