काठमाडौं, १८ भदौ । सभासद् मनोनयन प्रकरणले एमालेका कलह बढिरहँदा एमाले कार्यबाहक अध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीकै बचाउ गर्नुभएको छ ।
आफूलाई समेत नसोधी सभासद् चयन नगरिएको बताउँदै आएका गौतमले बुधबार भने ओलीको बचाउ गर्नुभएको हो । गृह मन्त्रालयमा संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टीका तर्फबाट ८ जना सभासद मनोनयन एकदमै सन्तुलित भएको बताउनुभयो । उहाँले शीर्ष नेता माधवकुमार नेपाल पक्षले आफ्नो पक्ष नपरेको दावी गर्दै विरोध गर्नु अनुचित भएको उहाँको जिकिर छ । उहाँले भन्नुभयो –‘छलफलमै मिलाएर गरिएको छ । यसमा कसैले असन्तुष्टि गर्नुपर्ने कुनै कारण छैन् ।’
एमाओवादीसँग गौतमको आक्रोश
उपप्रधान तथा गृहमन्त्री समेत रहेका गौतमले नेकपा–माओवादीले भने जस्तो सर्वपक्षीय गोलमेच सम्मेलनबाट संविधान जारी गर्न नसकिने स्पष्ट समेत पार्नुभयो ।
सहमतिमै भदौ २१ गतेभित्र संविधानको पहिलो मस्यौदा जारी गर्न दवाव दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियान अन्र्तगत गृहमन्त्रालयमा क्लवका अध्यक्ष ऋषि धमलासँग ज्ञापन पत्र बुझ्दै गौतमले संविधानका अन्र्तबस्तुमा सहमति खोज्न सर्वपक्षीय सम्मेलन गर्न सकिने तर त्यसपछि संविधान भने संविधानसभाले नै जारी गर्ने बताउनुभयो । संविधान सभाभन्दा बाहिर गएर कुनै पनि काम गर्न नसकिने उहाँले प्रष्ट पार्नुभयो ।
गृहमन्त्री गौतमले प्रमुख तीन दलका शिर्ष नेताहरुले पालै–पालो नेतृत्व गर्नेगरि संविधान निर्माण र शान्ति प्रक्रियामा सहजीकरण गर्ने म्याण्डेड सहित उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने सहमति भईसके पनि एमाओवादीले संसद बैठक अवरुद्ध गरिरहेको प्रति आक्रोश ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘उच्चस्तरीय राजनीतिक समिति गठनको सहमति भइसके पनि एमाओवादीले संसद अवरुद्ध पारिरहनु आपत्तिजनक छ । एमाओवादीले यो के गर्न खोजेको हो मैले बुझ्न सकिन । कतै संविधान निर्माण गर्नै चाहँदैन कि भन्ने आशंका मलाई लाग्न थालेको छ ।’
उहाँले थप्नुभयो– ‘राजनीतिक समिति संविधानसभाको विकल्प होइन, सहयोगीको रुपमा गठन हुन्छ । त्यसको नेतृत्व पनि आलोपालो हुन्छ । त्यसको जिम्मेवारी भनेको खाली शान्ति प्रक्रियालाई टुँगाउने मात्रै हुन्छ, यसले संविधान सभालाई कमजोर पार्ने र अर्को शक्तीकेन्द्रको रुपमा यसको गठन हुँदैन् । यसमा मधेशवादीलाई पनि राखिँदैन् ।’
गौतमले दलहरुले सहमतिमै तालिका बनाएकोले तालिकाअनुसार नै संविधान निर्माण कार्य अघि बढ्ने दावी गर्दै दलहरुवीच सहमतिको प्रयास अघि बढिरहेकोले सहमति भए त्यसै अनुसार नभए प्रक्रियाबाट जाने स्पष्ट पार्नुभयो । उहाँले असहमति भएको विषयहरुलाई असहमति भएकै रुपमा संविधानसभा लगेर छलफल गरेर माघ ८ गतेभित्र कुनै पनि हालतमा संविधान जारी गर्ने दावी गर्नुभयो ।
गौतमले भन्नुभयो– ‘सहमति र असहमति भएका दुबै बुँदालाई हामी संविधान सभामा लगेर छलफल गर्छौ । त्यसपछि मस्यौदा लिएर जनतामा जान्छौं । जनताको सुझावसहित संविधान सभामा गएर माघ गतेभित्रै संविधान जारी गर्छौ । सहमति भए सहमतीमै नभए प्रक्रियामा गएर भएपनि संविधान जारी गरिन्छ ।’
गौतमले नेपाली काँग्रेसले भने जस्तो सुधारिएको संसदीय ब्यवस्था आफूहरुलाई स्विकार्य नभएको स्पष्ट पार्दै सबैको मिलन विन्दुको रुपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएको शासकीय स्वरुप हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले संघीयता पनि बढीमा ७ वटासम्म हुनुपर्ने आफ्नो धारणा राख्नुभयो ।
















प्रतिक्रिया