३ कार्तिक २०८३, मंगलबार

विपक्षीको अवरोधका कारण सदन अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC

काठमाडौँ, १८ भदौ । निर्धारित समयभन्दा करिब आधा घण्टा ढिलो गरी सुरु भएको व्यवस्थापिका–संसद्को आजको बैठक पनि प्रतिपक्षी दलहरुको अवरोधका कारण सुचारु हुन सकेन ।

बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरुले विरोध जनाएपछि सभामुख सुवासचन्द्र नेम्वाङले सद्भावना पार्टीका लक्ष्मणलाल कर्णलाई बोल्ने समय दिनुभएको थियो ।

सांसद कर्णले गत पुस ९ गते प्रमुख राजनीतिक दलहरुबीच भएको चारबुँदे सहमति किन कार्यान्वयन हुन नसकेको हो भनी प्रश्न गर्दै सो सहमति कार्यान्वयन नहुँदासम्म सदन चल्न नसक्ने धारणा राख्नुभयो ।

विनियोजन विधेयकमा सरकारले छलफल नहोस् भन्ने चाहेको हो कि भन्ने आशङ्का व्यक्त गर्दै उहाँले द्वन्द्वपीडितलाई दिने राहतको विषयमा अर्थमन्त्रीले सदनसमक्ष गरेको प्रतिबद्धता कार्यान्वयन नभएको, बाढीपीडितलाई दिने भनिएको राहत वितरण नभएको र एक लाख नगद क्षतिपूर्ति नदिएको, राहत वितरणमा अनियमितता भएको आरोप लगाउनुभयो ।

प्रतिपक्षी दलकै मागबमोजिम राहत वितरणको संयन्त्र बनाइएको भए पनि बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारी पक्षका सांसदलाई मात्रै उपस्थित गराइएको, प्रतिपक्षी दलका सभासद्लाई सहभागी नगराइएको भन्दै साँसद कर्णले आपत्ति प्रकट गर्नुभयो ।

आफूहरु सदन रोक्ने पक्षमा नरहेको उल्लेख गर्दै उहाँले सरकार नै सदनलाई खुलाउने पक्षमा नरहेको जस्तो देखिएको तर्क गर्नुभयो ।

उहाँको सम्बोधन सकिने वित्तिकै सभामुख नेम्वाङले आफूले सरकार र प्रतिपक्षी दलहरुलाई पटक–पटक बसेर छलफल गर्न आग्रह गरेको भए पनि विगतदेखि नै लगातार सदन अवरुद्ध हुँदा देश जनताको आवाज प्रस्तुत गर्न नसकिएको बताउनुभयो ।

सदनको अवरोधले संविधान निर्माणको महत्वपूर्ण काममा व्यवधान उत्पन्न हुन नहोस् भन्ने आग्रह गर्दै उहाँले साँसदको ध्यानाकर्षण गराउनुभयो ।

सदनको अर्को बैठक यही भदौ २५ गते बुधबार १ बजे बस्नेछ । रासस