
काठमाडौं, १८ भदौ। नेपाल विद्यार्थी संघको आगामी महाधिवेशनका लागि एकदर्जन भन्दा बढी उम्मेदवार देखिएका छन् ।
अहिलेसम्म उम्मेदवारी घोषणा गर्नेमा नैनसिंह महर, दिपक भट्टराई, सरोजकुमार थापा, क्षितीज भण्डारी, गणेश भट्ट, निलकण्ठ रिजाल, मनोजमणि आचार्य, बाबुराम कोइराला, पदमराज पन्त, कुन्दन राज काफ्ले, केदार कार्की, रत्न कार्की, कुन्दन काफ्ले लगायत छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने धेरै भएपनि अन्तिम समयसम्म यी सबैले खुट्टा टेक्छन्, टेक्दैनन भन्ने अवस्था छैन । तर, उनीहरु सबैको एउटै काम छ, ‘महाधिवेशनमा प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्छ ।’
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेविसंघका नेताहरुले कुनै पनि बहानामा नेतृत्व गुटगत ढंगबाट चयन नगर्न आग्रह गर्दै प्रतिस्पर्धाबाट चयन गरिनुपर्ने धारणा राखेका छन् । कार्यक्रममा सहभागी विद्यार्थी नेता एवम् अध्यक्षका प्रत्यासी नैनसिंह महरले ८ वर्षदेखि नेविसंघ महाधिवेशन हुन नसक्दा नेतृत्व जाम भएको भन्दै तोकिएकै मितिमा महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेका छन् ।
उनले महाधिवेशन समयमा नहुँदा संगठन निस्क्रिय भएको भन्दै तोकिएकै समयमा महाधिवेशन हुन सके संगठन झनै सक्रियताका साथ अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले भने– विगत धेरै वर्षदेखि हामीले महाधिवेशनको माग गर्दै आएका हौं तर यसपटक महाधिवेशनको तिथि मिति तोकिएको छ । अब संगठनलाई मजबुत बनाउन हामी सवैले योगदान दिन जरुरी छ ।
कार्यक्रममा नेविसंघका अर्का नेता एवम अध्यक्षका प्रत्यासी दिपक भट्टराईले देशमा धनी र गरिववीच समान शिक्षाको वातावरण मिलाउनुपर्ने धारणा राख्दै नेविसंघले त्यसका लागि नेतृत्व लिनुपर्ने बताएका छन् । उनले भने–देशमा शिक्षाको ठूलो खाडल छ । यहाँ धनी र गरिववीच समान शिक्षा पाउने प्रावधान बनाउन जरुरी पनि विद्यार्थी नेता बन्नका लागि कम्तीमा पनि स्नातकोत्तर उत्तिर्ण हुनुपर्छ । नपढेको व्यक्तिले विधार्थी संगठन हाँक्न सक्तैन ।
त्यस्तै अध्यक्षका अर्का प्रत्यासी सरोजकुमार थापाले विद्यार्थी नेताहरु आफ्नो ठाउँमा बसेर राष्ट्रिय राजनीतिलाई टेवा पु¥याएको स्मरण गर्दै आगामी दिनमा विद्यार्थी नेताहरुले मुलुकमा शैक्षिक, राजनीतिक र आर्थिक मुद्याहरुलाई एकिकृत रुपमा उठान गर्नुपर्ने धारणा राखेका छन् । थापाले भने–हामी विद्यार्थी नेताहरुले आफ्नो ठाउँमा बसेर गरेको योगदानमा राजनीतिक कोर्स पुरा गरेकोले अब शैक्षिक मुद्यामा केन्द्रित हुनुपर्छ ।
कार्यक्रममा अध्यक्षका अर्का प्रत्यासी क्षितिज भण्डारीले नेविसंघको हरेक आन्दोलन र विद्यार्थीहरुको साझा एजेन्डालाई सधै मुखरित गरेको कारण पनि आफू अध्यक्ष पदको दाबेदार भएको उद्घोष गरेका छन् । भण्डारीले आफू सधै विद्यार्थीहरुको हकहित र अधिकारका लागि लड्ने पनि प्रतिबद्धता जाहेर गरेका छन् ।
त्यस्तै कार्यक्रममा अध्यक्ष प्रत्यासी गणेश भट्ट, निलकण्ठ रिजाल, मनोजमणि आचार्य, बाबुराम कोइराला, पदमराज पन्त, कुन्दन राज काफ्ले, केदार कार्की, रत्न कार्की, कुन्दन काफ्ले, महामन्त्रीका प्रत्यासी रामप्रसाद अधिकारी लगायतका नेताहरुले आगामी भदौ २९, ३० र ३१ मा काठमाडौमा हुने महाधिवेशन कुनै पनि हालतमा नसार्न आग्रह गरेका छन् । उनीहरुले कार्यक्रममै आ–आफ्नो उमेद्धवारी समेत घोषणा गरेका छन् । नेतृत्वका प्रत्यासीहरुले संघलाई हाँक्न आ–आफ्नो एजेण्डासमेत सुनाएका थिए ।















प्रतिक्रिया