३० आश्विन २०८३, शुक्रबार

वीरेन्द्रको सम्पत्तिमा माफियाको चलखेल, विदेशका सम्पत्ति गायव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

King Birendra & Aishorya

काठमाडौं, १८ भदौ । दरबार हत्याकाण्डको घटनाजस्तै उनका सम्पत्तिहरू समेत गुमनाम हुन थालेका छन् । विदेशमा रहेका उनको सम्पत्ति त भेटिएको छैन नै, स्वेदशमा भेटिएका सम्पत्तिहरूमाथि पनि माफियाहरूले आँखा लगाएका छन् ।

वीरेन्द्रको सम्पत्तिको खोजी र सदुपयोग गर्न सरकारले गठन गरेको नेपाल ट्रष्टको कार्यालयले आइतबार प्रधानमन्त्री सुशील कोइरालालाई आफ्नो प्रतिवेदन बुझाउँदै सम्पत्ति धेरै खोज्न नसकिएको बताएको थियो । यसले पनि पूर्वराजपरिवारको नाममा रहेको सम्पत्ति धेरै विभिन्न व्यक्तिहरूले मस्ती गर्दै आएको प्रष्ट हुन्छ । जवाफमा प्रधानमन्त्री सुशील कोइरालाले सुराकी लगाएर सम्पत्ति खोज्न निर्देशन दिएका थिए ।

नेपाल ट्रष्ट ऐन २०६४ मा सम्पत्ति खोज्नका सुराकी परिचलान गर्न सकिने प्रावधान छ । तर महत्वपूर्ण जग्गा, घर तथा शेयरमा माफियाले कब्जा गर्न भ्याइसकेका छन् । पूर्वराजा ज्ञानेन्द्रका ज्वाई राजबहादुर सिंह, व्यापारी आङछिरीङ शेर्पादेखि माओवादीले समेत वीरेन्द्रका परिवारको सम्पत्तिमा रजाई गरेका छन् ।

कहाँ- कहाँ छ घरजग्गा ?

हालसम्म ९ जिल्लामा विभिन्न १५ ठाउँमा ट्रष्टको कार्यालयले घर जग्गा भेटाएको छ । सबै गरेर ६ हजार २ सभय ४४ रोपनी जग्गा भेटिएको छ । तर त्यसलाई आफ्नो मातहतमा ल्याउन सकेको छैन ।

अचल सम्पत्तिअन्र्तगत निर्मल निवास नजिकै रहेको घरमा नेपाली सेनाले कब्जा गरी बसेको छ । एक रोपनी सात आनामा बनेको घरसमेत ट्रष्टले मातहतमा ल्याउन सकेको छैन । त्यस्तै बालाजुमा रहेको १० रोपनी ६ आना जग्गा मोहीका नाममा विभिन्न व्यक्तिले कब्जा गरी बस्दै आएका छन् । बालाजुको उक्त जग्गा माओवादी नेतृ हिसिला यमिले तजबिजी निर्णय गरेर मोहीका नाममा आफ्ना कार्यकर्तालाई बाँडेकी थिइन् । माओवादी कार्यकर्ताहरूले कब्जा गरिसकेकाले ट्रष्टले सो जग्गा आफ्नो मातहतमा ल्याउन सकेको छैन ।

टेकुको बुद्धवारीमा रहेको १९ रोपनी जग्गा टाउन डेभलपर्सले ३० वर्षका लागि लिजमा लिएको छ । त्यस्तै कालिमाटी ताहाचलस्थित ६२ रोपनी जग्गा तथा घर पनि विभिन्न व्यक्तिहरूले कब्जा गर्दै आएका छन् । त्यहा जम्मा सात वटा सटर मात्र भाडामा दिइएको छ । त्यही बनेको एक घरमा पूर्वराजा ज्ञानेन्द्रका ज्वाई राजबहादुर सिंह बस्दै आएका छन् । घर छाड्नुको सट्टा घर दिलाइदिनका लागि औपचारिक रुपमा निवेदन दिएर उनी लबिङ गरिरहेका छन् ।

ठमेलबाट सामाखुशी जाने ओरालोमा रहेको नौं आना जग्गा मोहीले रजाई गर्दै आएका छन् । ट्रष्टले उनीहरूलाई हटाउन सकेको छैन । त्यस्तै फर्पिङमा रहेका ६८ रोपनी जग्गामध्ये केही त्रिभुवन आदर्श माविले प्रयोग गरेको छ भने अरु स्थानीयले मिचेका छन् । सतुंगलकभो एक रोपनी ६ आना, थानकोटको एक सय २ रोपनी तथा मातातीर्थमा रहेको ६० रोपनी जग्गा मोहीले नै प्रयोग गर्दै आएका छन् । दरबारमार्गमा रहेको जग्गा र भवन ट्रष्टको कार्यालयले नै प्रयोग गर्दै आएको छ भने लाजिम्पाटमा रहेको ६ रोपनी १३ आना जग्गा स्टान्डर्ड चार्टड बैंकले २०७७ सालसम्मका लागि लिजमा लिएको छ ।

गोकर्णमा रहेको २ हजार सा सय ९१ रोपनी जग्गा व्यवसायी आङकाजी शेर्पाले सन् २०२५ सम्मका लागि लिएर रिसोर्ट र गल्फ क्लब चलाउदै आएका छन् । त्यस्तै भक्तपुर, नुवाकोट, धनुकटा मकवानपुर, काभ्रे, सुर्खेत, कास्की, चितवन, धादिङ लगायतका जिल्लामा ट्रष्टको जग्गा छन् । तीमध्ये अधिकांश जग्गा माफियाले र स्थानीयहरूले मस्ती गरेका छन् । फेवातालको किनारमा रहेको जग्गामा होटल बनेको छ । जसको भाडासमेत ट्रष्टको कार्यालयले पाउने गरेको छैन । त्यहाँ एक सय ७४ रोपनी जग्गा छ । चितवनमा नारायणी नदिरको किनारमा पूर्वराजपरिवारको नाममा ७ सय ६७ रोपनी जग्गा छ । जहा ऐतिहासिक दियालो बंगलासमेत छ । त्यहाँ पनि सुरक्षाका नाममा सेना बस्दै आएको छ ।

यस बाहेक नबिल बैंकमा एक लाख ४४ हजार ४ सय ७२ कित्ता शेयभर छ । अन्नपूर्ण होटलमा १५ हजार तीन सय ६० कित्ता तथा नेपाल औद्योगिक विकास निगममा ६ हजार ७ सय ५० कित्ता शेयर रहेको ट्रष्टको कार्यालयले जनाएको छ । महत्वपूर्ण जग्गा, भवन र शेयरबाट आर्थिक वर्ष २०६९/७० मा ट्रष्टको कार्यालयले ६ करोड १ लाख ६८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

लिजबापत तीन करोड, घर भाडाबाट ५० लाख, बैंक ब्याजबाट १ करोभड २५ लाख, लाभांसबाट ४५ लाख, पाँचखालमा रहेको जग्गाको फलफुल बिक्रीबाट ४१ हजार, काठ बिक्रीबाट ८० लाख तथा टेन्डर शुल्कवापत् ५ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा ट्रष्टको खातामा २० करोड ५६ लाख १८ हजार ४ सय १५ रुपैयाँ ४५ हजार ४५ पाउन्ड स्टर्लिङ पुगेको छ ।

उक्त पैसा शिक्षा, स्वास्थ्य जस्ता काममा लगाउने कुरा नेपाल ट्रष्ट ऐनमा उल्लेख छ । तर गणतन्त्रपछि कार्यालय स्थापना भएको ६ वर्ष बित्दा पनि वीरेन्द्र र उनका आफन्तको नाममा रहेको धेरै सम्पत्ति नै उसले मातहतमा ल्याउन सकेको छैन भने ल्याएको पनि सदुपयोग हुन सकेको छैन । ट्रष्टको कार्यालयमा प्रभावकारी नेतृत्व नहुँदा पनि स्वर्गिय राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा उनको परिवारको सम्पत्ति सरकारले फेला पार्न नसकेको हो । ट्रष्टको कार्यालयमा सरुवालाई निजामती कर्मचारीले कारबाहीको रुपमा लिने गरेका छन् । सचिव श्रीधर गौतमले लामो समय त्यहाँ बसेर काम गर्न खोजेपनि राजनीतिक दबाब र माफियाको चलखेलका कारण केही गर्न सकेनन् । हालै ट्रष्टमा सचिव नरबहादुर रजवारको सरुवा भएको छ ।

संचालक समिति भने गृहमन्त्रीको अध्यक्षतामा हुन्छ । जसमा मुख्यसचिव, गृहसचिव, कानुनसचिव, अर्थसचिव, स्वास्थ्यसचिव, शिक्षासचिव तथा महिला मन्त्रालयका सचिव सदस्य रहन्छन् ।

विदेशका सम्पत्ति गायव

पूर्वराजा तथा परिवारको नाममा विदेशमा रहेका सबै सम्पत्ति गायव भएका छन् । नेपाल ट्रष्टको कार्यालयले विभिन्न ५ देशमा राजपरिवारको नाममा सम्पत्ति रहेको सूचनाका आधारमा ती देशमा पत्राचार गरेपनि सबैले नकारात्मक जवाफ पठाएका छन् ।

बेलायत, अमेरिका, स्वीजरल्यान्ड, थाइल्यान्ड र हङकङलाई परराष्ट्र मन्त्रालयमार्फत् पत्राचार गरिएको ट्रष्टका उपसचिव विनोद पोखरेलले बताए । तर विदेशमा सम्पत्ति भेटिएको छैन । स्वीस बैंकमा पूर्वराजपरिवारको नाममा धेरै सम्पत्ति रहेको आशंका गरिएको थियो । तर स्वीस सरकारले सम्पत्ति नरहेको बताएको छ । कुटनीतिक पहल हुन नसक्दा त्यसरी विदेशमा रहेको सम्पत्ति पत्ता लाग्न नसकेको बताइन्छ ।

नेपालकै बैंकमा रहेको ४५ हजार ४५ पाउन्ड स्टर्लिङ भने फेला परेको छ । किष्ट बैंकको मुद्दती खातामा उक्त रकम छ । उक्त मुद्रा साटेर बचत खातामा राखेको खण्डमा ठूलो रकम ब्याज आउने भएपनि त्यसमा चासो दिइएको छैन ।