काठमाडौं । सधैँ सुगम संगीतमा ध्यान दिने संगीतकार सन्तोष श्रेष्ठले पछिल्लो पटक पाश्चात्य, भारतीय र नेपाली बाजाहरूको मिश्रण गरेर नौलो खालको गीत सृजना गरेका छन् । ‘पञ्चे बाजा घन्काउँदै…’ बोलको यो नयाँ गीतमा पञ्चेबाजाले अलि धेरै महत्व पाएको छ । गीतमा परम्परागत रुपमा पञ्चेबाजालाई राखिएको भने छैन ।
फिल्म मेकर एवम् अभिनेता गणेश बेलवासेको ड्रिम प्रोजेक्ट ‘प्रेम रक्षक’ फिल्मका लागि संगीतकार श्रेष्ठले अत्यन्तै नौलो प्रकारको गीत तयार पारेका हुन् । हुन त बेलवासेले यो फिल्मका अधिकांस गीतहरू रेकर्ड गराइ सकेका छन् । तर उनले यसलाई अलि धेरै महत्व दिएका छन् । बेलवासेले यो गीत चल्छ भनेर आफू आसावादी रहेको उल्लेख गर्छन् ।
गीत कस्तो छ ? भन्ने जिज्ञासामा संगीतकार श्रेष्ठले भने, ‘पञ्चे बाजालाई प्रयोग गरेर दर्शक स्रोतालाई मनोरञ्जन दिने गरी तयार पारिएको गीत हो । यो गीत बज्यो भने दर्शक स्रोतालाई नाँचुनाँचु लाग्ने गरेर बनाइएको छ ।’
गीतमा प्रयोग भएका बाद्यवादन सबैलाई मिश्रण र फ्युजनले गीतलाई अत्यन्तै चट्किलो र सुन्दर बनाएको उनको दाबी छ । भन्छन्, ‘मैले गरेको धेरै गीत सुगम संगीतमा आधारित छन् । यो गीत अलिक फरक धारमा बनाएको छु । म खुसी छु ।’ उनको बुझाइमा यो गीतले स्टेज प्रोग्रामहरूमा दर्शकलाई तताउन मद्दत गर्नेछ ।
पञ्चे बाजालाई गीतसंगीतमा राख्ने चलन हराउँदै गइरहेका बेला फिल्म मेकर बेलवासे र संगीतकार श्रेष्ठले जोखिम मोलेर आफ्नो गीतमा पञ्चे बाजालाई फ्युजन गरी समावेश गरेका हुन् । ‘पहिला जस्तो छैन’, श्रेष्ठले भने, ‘पञ्चे बाजा राखेर पनि गीत राम्रो बनान सकिन्छ भन्ने सन्देश दिन पनि यो जोखिम मोलिएको हो ।’
फिल्म मेकर एवम् अभिनेता बेलवासेले पनि ‘प्रेम रक्षक’ फिल्ममा पञ्चेबाजालाई पनि नयाँ पुस्ताले थाहा पाओस् भनेर त्यो दृश्य राखिएको बताए । ‘फिल्ममा पञ्चे बाजाको महत्व थोरै भए पनि सांकेतिक रुपमा देखाउन खोजिएको छ’, उनले भने ।
क्लासिकल फिल्म ‘उहीले बाजेको पालामा’ निर्माण गरिसकेका बेलवासेले ‘प्रेम रक्षक’लाई सोही धारमा नलगे पनि अलिक फरक शैलीमार्फत बनाउँदैछन् ।
गीतमा नयाँ गायक गायिकाहरूले स्वर दिएका छन् । स्वर दिने गायिकामा सुरुची पन्थी र गायकमा भुपु पाण्डे छन् । गीतको रचना बेलवासे आफैले गरेका हुन् । ‘प्रेम रक्षक’ फिल्मको यो गीतको रेकर्डिष्ट भोला पौडेल हुन् । गीतलाई साउन्ड डिजाइन स्टुडियो नक्सालमा रेकर्ड गरिएको हो ।
गीतलाई एरेञ्ज मनोहर सुनामले गरेका हुन् । गीत एरेञ्जका लागि कहलिएका र व्यस्त एरेञ्जरमा पर्ने सुनामले गीत तयार पार्न झण्डै दुई साता मिहिनेत गर्नु परेको थियो । सुनामको मिहिनेत अनुसार गीत राम्रो बनेको संगीतकार श्रेष्ठको भनाइ छ ।















प्रतिक्रिया