१ कार्तिक २०८३, आइतबार

यी गायक जसले आफ्नो यात्रालाई यसरी दिए ‘यू’ टर्न

8.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-bhandari-singer-pop– विलम योगी

काठमाडौं । ‘धौलागिरीमा सके गुन तिरौँला नत्र फिरिमा..’, ‘ट्याक्सी मोटर कार…’, ‘छोडपत्र…’, ‘पाइन तिम्रो साथ…’, ‘गैह्री पर्‍यो ताल…’, ‘सोल्टिनीलाई बैना मारौँ कि…’ जस्ता राम्रा र अहिले पनि जनजिब्रोमा उत्तिकै गुनगुनाइने गीतका गायक माधव भण्डारीले एकाएक आफ्नो गायन पेशालाई फरक धारमा लगेका छन् ।

पाल्पा जिल्लाबाट गायन क्षेत्रमा लाग्नै भनेर ०५६ सालमा राजधानीभित्रिएका भणडरीले अहिलेसम्म दुई हजारभन्दा बढी गीतहरूमा स्वर दिएका छन् । उनका त्यति बेलाका गीत अहिले पनि उत्तिकै राम्रा छन् । लोेकदोहोरी गीतबाट आफ्नो नाम चम्काएका भण्डारीले एकाएक आफ्नो गायन पेशालाई किन अर्कोतिर मोड्दै छन् त ? यस विषयमा राखिएको जिज्ञासामा उनले भने, ‘लोकदोहोरी त मैलेगाएकै छु । अलिक फरक गरौँ भनेर पप आधुनिक गीत गाउन थालेको हुँ ।’

पप आधुनिक गायन भण्डारीका लागि अलि फरक धार हो । यो गायनबाट आफू कति सफल हुन्छु भन्नेमा उनी दोधारमा छन् ।

गायक भण्डारीले आफ्नै स्वर, रचना तथा संगीतमा ‘छोडेर जाने मायाले…’ बोलको पप गीत ल्याएका छन् । लोकदोहोरीभन्दा अत्यन्तै फरकधारको यो गीतबाट स्रोता दर्शकको कस्तो प्रतिक्रिया पाउँछु त्यसै अनुसार अगाडि बढ्ने उनको योजना छ ।

विगत १७ वर्षदेखि लोकदोहोरी गायनमा विताएका भण्डारीका सहपाठीहरू पलायन पनि भइसकेका छन् । तर उनी यो क्षेत्रमा अड्डा जमाएर बसेका छन् । बरु आफूलाई समय र परिस्थि अनुसार परिवर्तन गराउँदै लगेका छन् । ‘समय र परिस्थिति अनुसार चल्न सक्नु पर्छ’, भण्डारीले भने, ‘म आफूलाई समय अनुसार ढाल्नु पर्छ ।’

हुन त भण्डारीले अहिले पनि गीत एरेञ्जरको काम गर्छन् । अहिलेसम्म उनले चार सयभन्दा बढी गीतको एरेञ्ज गरिसकेका छन् । ‘मैले चार सयभन्दा बढी गीतको एरेञ्ज पनि गरेको छु’, भण्डारीले भने, ‘गीतहरूमा संगीत पनि दिने गरेको छु ।’

कुनै बेला लोकदोहोरी गीतको क्षेत्रमा एकछत्र राज गरेका गायक राजु परियारसँग पनि भण्डारीले गाएका छन् । ‘राजु परियारको स्वर लोकदोहोरीका लागि अत्यन्तै उपयुक्त छ’, त्यति बेलाको गायन सम्झदै उनले भने, ‘थुप्रै गायक तथा गायिकाहरूसँग गाएको छु । सबैसँग राम्रो अनुभव छ ।’

अहिलेको नयाँ पुस्ताले पनि गायनको क्षेत्रमा राम्रो गरेको उनको भनाइ छ । ‘केही अपवादलाई छाडेर नयाँ पुस्ताका गायक गायिकाले धेरै राम्रो गरेका छन्’, भण्डारीले भने, ‘तर केही गायक गायिकाले लोकदोहोरीको मर्म र भावनालाई बिगार्ने गरेका छन् । दुःख लाग्छ ।’ उनले आफ्नो लोक मौलिकतालाई कसैले भुल्नु हुँदैन भन्ने मान्यता राख्छन् ।