काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको गिरान्चौर एकिकृत नमुना बस्तीमा ६५ घर, एउटा सामुदायिक भवन, बैंगैचा, बाल उद्यानसँगै एउटा स्तम्भ पनि निर्माण गरिएको छ । सुन्दर देखिने बस्तीमा रकेट आकारको उक्त स्तम्भ उत्तिकै सुहाएको छ । सामुदायिक भवनको अगाडि बनाइएको उक्त स्तम्भमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको “उद्धेश्य के लिनु उडी छुनु चन्द्र एक” भन्ने भनाई लेखिएको छ ।
आँट र सहयोगी हातहरुका कारण गिरान्चौर एकिकृत बस्ती बनाउने उद्धेश्य सम्पन्न भएको कुरालाई यो भनाईले समेट्न खोजेको देखिन्छ । चन्द्र छुने लक्ष्य लिएर अघि बढ्ने आँट गरेमा असम्भव केहि छैन भन्नका खातिर पनि उक्त स्तम्भमा महाकवि देवकोटाका भनाईलाई राखिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताएका छन् ।
यस्तै, बस्तीमा किन रकेट स्तम्भ नै बनाइयो त ? धुर्मुस भन्छन्, “रकेटको गतिमा काम गरेमा मात्र देश बन्छ, रकेटकै गतिमा सहयोग उठ्यो, काम अघि बढ्यो त्यसैले रकेटको स्थम्भलाई त्यस्को संकेत मानेर खडा गरेका हौँ ।” देश निर्माण, तपाईँ हाम्रो अभियान भन्ने नारासहित गिरान्चौर बस्ती ठड्याएका धुर्मुस सुन्तलीले रकेट स्तम्भको संकेत बुझेर सोहि रुपमा काम गर्न सबैसँग अपिल गरेका छन् ।
“एकजनाले देश बन्दैन तर, रकेटको गतिमा लागि पर्ने हो भने त्यहि एकजना मान्छेले पनि धेरै काम गर्न सक्छ, त्यसैले युवाहरु जुटे देश अवश्य हामीले सोचेजस्तो बन्नेछ,” धुर्मुसको विश्वासका साथ भन्छन् ।
















प्रतिक्रिया