रामेछाप, १९ कात्तिक । रामेछापको सदरमुकाम मन्थलीमा नागरिकता सम्बन्धि छलफल भएको छ ।
महिला कानुन र विकास मञ्चको आयोजनामा बिहिबार जिल्लाका सम्पूर्ण गाविसमा कार्यरत गाविस सचिव तथा २ वटा नगरापालीकाका वडा सचिवहरुका बिचमा नागरिकताको प्रमाणपत्र, यसको प्राप्तिका कानुनी आधार, नागरिकताको प्रमाणपत्र शिफारिस गर्दा आएका समस्या र समाधानको लागि भएका प्रयासहरुको बारेमा अनुभव आदानप्रदान गर्न सो छलफल कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा महिला कानुन र विकास मञ्चका अधिवक्ता सविन श्रेष्ठले नागरिकताको अवधारणा र यसको आवश्यकताको बारेमा प्रकाश पारेका थिए । उनले नागरिकता नागिकको पहिचाको पहिलो आधार भएकोले नागरिकतालाई अन्य कुरासँग जोडेर हेर्न नहुने बताए । उनले कुनै पनि नेपाली नागरिक कुनै पनि वहानामा नेपाली नागरिकता पाउनबाट बञ्चित हुन नहुने बताए । यसको साथै एकजना पनि गैरनेपालीले नेपालको नागरिकता पाउनु हुँदैन भन्ने कुरामा पनि त्यतिकै सचेत हुनुपर्ने बताए । नागरिकताको सवालमा नेपालको राजनीतिक नेतृत्व अझै पनि गम्भिर नभएको उनको भनाई थियो ।
कार्यक्रममा अधिवक्ता सुविन मुल्मीले नागरिकता प्राप्तिको प्रक्रिया नेपालमा महिला र महिलाको नाममा नागरिकता पाउनको लागि अहिले पनि देखिएका समस्या तथा समाधानको उपाय र सर्वाच्च अदालतले यस विषयमा गरेका फैसलाको बारेमा जानकारी गराएका थिए । अधिवक्ता बाबुकाजी दाहालले नागरिकता प्रदान गर्ने सवालमा गाविस र नगरपालीकाको भूमिका र शिफारिसका क्रममा आउने चुनौतीको बारेमा जानकारी गराएका थिए ।
जिल्ला विकास समिति रामेछापका सामाजिक विकास अधिकृत गोविन्द कट्टेलले व्यक्तिगत घटना र शिफारिसको क्रममा गाविस र जिविसको समन्वयको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा गावि सचिव हकहित संरक्षण मञ्च रामेछापका अध्यक्ष लक्ष्मण भुजेलले यस्ता कार्यक्रमले काम गर्ने क्रममा देखिएका समस्यहरु कसरी सुल्झाएर अघि बढ्न सहयोग पुग्ने बताए । कार्यक्रममा गाविस र वडा सचिवहरुका साथै सञ्चारकर्मी र कानुन व्यवसायीहरुको समेत सहभागिता रहेको थियो ।













प्रतिक्रिया