१२ कार्तिक २०८३, बिहिबार

माओवादीभित्र प्रचण्डको विरोध सुरु, परिवारलाई काखी च्यापेको आरोप

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspa_dahal-581a90fd5a2f65-72099605काठमाडौ, १८ कात्तिक । सरकार नेतृत्व गरेको एक सय दिन नपुग्दै नेकपा माओवादी केन्द्रभित्रैबाट प्रधानमन्त्री पुष्पकमल दाहालको तीव्र आलोचना सुरु भएको छ ।

परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएको, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा सार्वजनिक बिदा घोषणा गरेको, इमानदार र क्षमतावानलाई पन्छाएर आफू र परिवारका सदस्य रिझाउनेलाई राजनीतिक नियुक्तिमा लगेको आरोप लगाउँदै उनको आलोचना हुन थालेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

उनीमाथि जनताका पक्षमा देखिने गरी कुनै निर्णय कार्यान्वयन गराउन नसकेको, पार्टीको संस्थागत निर्णय नमानेको, अध्यक्षको हैसियतमा पार्टी संगठनलाई बेवास्ता गरी निर्वाचन गराउने घोषणा गरेको, भारत र चीनबीच सन्तुलन कायम राख्न नसकेको जस्ता आरोप पार्टीभित्रैबाट लागेको छ ।

भारतको गोवामा जाँदा प्रधानमन्त्री दाहालले आफ्ना परराष्ट्र मामिला सल्लाहकार ऋषि अधिकारीको नाम काटेर निजी चिकित्सक युवराज भुसाललाई लगेको विषय सेलाउन नपाउँदै प्रशासनिक सल्लाहकारमा भाइ नारायण दाहाललाई नियुक्त गरेपछि उनको तीव्र आलोचना सुरु भएको छ ।

पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य नारायण दाहाललाई प्रशासनिक सल्लाहकार नियुक्त गरेको विषयमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले व्यंग्यात्मक शैलीमा विरोध जनाएका छन् ।

पार्टी अध्यक्ष दाहालको संरक्षण गरेजस्तो गरेर पत्याउनै नसकिने निर्णय प्रधानमन्त्री दाहालबाट नभएको हुनसक्ने भन्दै श्रेष्ठले सामाजिक सञ्जालमार्फत अभिव्यक्ति सार्वजनिक गरेका छन् । ‘हाम्रो पार्टी र अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको इज्जत, प्रतिष्ठा र मूल्यमाथि किन यति निर्मम प्रहार भइरहेको छ ? हालै नियुक्त भएका प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार उही हाम्रो पार्टीको केन्द्रीय समितिको सचिवालय सदस्य नारायण दाहाल नै हो भनेर किन प्रचार हुँदैछ ? यो हुनै सक्दैन । प्रशासनिक सल्लाहकारमा कोही नारायण दाहाल नाम गरेको पूर्ववरिष्ठ प्रशासक वा दक्ष प्रशासनविद्लाई नियुक्त गरिएको हुनुपर्छ । संयोगले नाम जुध्यो । बस । होइन र !’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रशासनिक सल्लाहकार नियुक्त भएका नेता नारायण दाहालले भने श्रेष्ठको अभिव्यक्तिलाई गैरराजनीतिक टिप्पणीको संज्ञा दिएका छन् ।