इलाम, १५ कात्तिक । चियापछिको अर्को मुख्य नगदेबालीको रूपमा रहेको अलैँचीले यहाँ बजार लिन थालेसँगै मूल्य भने निरन्तर ओरालो लाग्न थालेको छ ।
खोल्सीको ‘कालो सुन’ उपमाले समेत चिनिएको यो नगदेबालीको मूल्य अस्वाभाविक रूपमा घट्दै गएकाले किसान चिन्तित बनेका हुन् ।
बजारमा नयाँ अलैँची निस्किन थालेको करिब दुई महिना पुग्न लाग्दा गत सालको मूल्य भन्दा प्रतिमन करिव रु २५ हजार घटेको छ । भदौको सुरूदेखि बजारमा नयाँ अलैँचीको फसल निस्कन थालेको हो ।
सुरूमा अलैँची प्रतिमन (४० किलोग्राम) को ७० हजार रूपैयाँसम्ममा किनबेच भए पनि हाल प्रतिमन ५०÷५५ हजार रूपैयाँसम्म झरेको छ ।
इलाम बजारका अलैँची व्यवसायी विजय खाकीले प्रतिमन ५० हजार रूपैयाँले अलैँचीको किनबेच भएको बताउनुभयो ।
नयाँ अलैँची निस्कन थालेसँगै मूल्य निरन्तर घटिरहेको उहाँले जानकारी दिनुभयो । यसरी अलैँचीको मूल्य निरन्तर घट्दै जाँदा लाखौको घाटा भएको सम्बद्ध किसानको गुनासो छ ।
गतवर्ष एक लाख रूपैयाँमा प्रतिमन बिक्री गरेको अलैँची यसपाली ५० हजारले पनि बिक्री हुन मुस्किल परेको छ, आमचोकका अलैँची कृषक कमल लामिछानेले भन्नुभयो ‘गतवर्षको जस्तो भाउ नआउँदा किसान मारमा परेका छन् ।’
अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्षसमेत रहनुभएका खाकीले यो वर्ष इलामबाट करिब ४०० मन अलैँची झापा निकासी भएको बताउनुभयो ।
इलाम बजारकै अर्का व्यवसायी प्रकाश अग्रवालले गाउँ–गाउँबाट अहिले नयाँ निस्केको अलैँची गुणस्तरहीन भएको बताउनुभयो । कृषकबाट गुणस्तरहीन अलैँची आउने गरेकै कारण पनि अलैँचीको मूल्यमा भारी गिरावट आएको हुनसक्ने अग्रवालको भनाइ छ ।
इलाममा सरदर एक हजार ५०० हेक्टरमा अलैँचीखेती हुँदै आएकामा गतवर्ष ५५८ मेट्रिक टन अलैँची उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लाका प्याङ, नयाँबजार, माइमझुवा, पुवामझुवा, माइपोखरी, सुलुबुङ, बरबोटे, सोयाङ, नामसालिङ, जिर्मले, चमैता, आमचोक, फुएतप्पा, फाकफोकलगायत गाविसका अधिकांश कृषक अहिले व्यावसायिक अलैँची खेतीमा लागेका छन् । रासस
















प्रतिक्रिया