काठमाडौं, १५ कात्तिक । फ्रान्सका पूर्वउपनिवेश मुलुकहरू ‘फ्रान्को फन’ मा शान्ति मिसनमा जाने सैनिकहरूले अनिवार्य रूपमा फ्रेन्च भाषा जान्नुपर्ने व्यवस्था गरिएको छ । यो क्षेत्रका अधिकांश द्वन्द्वग्रस्त मुलुकमा स्थानीय भाषाको रूपमा फ्रेन्च बोलिने भएकाले संयुक्त राष्ट्रसंघले शान्ति सेना पठाउने देशलाई आफ्ना सुरक्षाकर्मीलाई यो भाषा सिकाउन आग्रह गरेको हो ।
फ्रान्सको पेरिसमा कात्तिक ११ र १२ मा भएको फ्रेन्च भाषा बोल्ने ३२ मुलुक र शान्ति मिसनमा सुरक्षाकर्मी खटाएका मुलुकहरूका मन्त्रीहरूको सम्मेलनमा यस्तो आग्रह गरिएको हो । संयुक्त राष्ट्रसंघसहित ७१ विभिन्न संस्था यो कार्यक्रममा उपस्थित थिए । शान्ति मिसनमा सहभागी रहँदै आएको नेपालका तर्फबाट कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँड सहभागी थिए । ‘उनीहरूले प्रस्टै रूपमा भनेका छन् सुरक्षार्थ खटिने सुरक्षाकर्मीले अनिवार्य रूपमा फ्रेन्च भाषा बोल्नुपर्छ,’ खाँडले कान्तिपुरसँग भने । शान्ति मिसनमा अब अंग्रेजी भाषा मात्र बोलेर नहुने सम्मेलनमा बताइएको पनि मन्त्री खाँडले बताए ।
नेपालबाट हाल बर्सेनि करिब ५ हजार सुरक्षाकर्मी शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघले खटाएको विभिन्न द्वन्द्वग्रस्त मुलुकमा जान्छन् । सरकारले गत वर्षबाट शान्ति स्थापनार्थ पठाउने सुरक्षा कर्मीको संख्या बढाउन आग्रह गर्दै राष्ट्रसंघलाई आग्रह गरेको छ । सरकारले करिब १० हजार सुरक्षाकर्मीलाई मिसनमा पठाउने निर्णय गरेको थियो । सेना, सशस्त्र प्रहरी बल र प्रहरीले शान्ति मिसनमा भाग लिँदै आइरहेका छन् ।
नेपालबाट हरेक मुलुकमा शान्ति मिसनमा खटाउनुभन्दा पहिले त्यहाँको भाषा अनिवार्य रूपमा सिकाउने गरेको आफूले सम्मेलनमा जानकारी दिएको मन्त्री खाँडले बताए । मन्त्री खाँडले भाषाका साथै सम्मेलनमा सम्पूर्ण मुलुकलाई आधुनिक हतियार अनिवार्य रूपमा हुनुपर्ने र द्वन्द्वग्रस्त क्षेत्र अनुसारको सवारी साधन हुनुपर्ने सुझाव दिइएको बताए । ‘विद्रोहीहरूसँग अत्याधुनिक हतियार हुने भएकाले त्योभन्दा राम्रो हतियार मिसनमा खटिएका सुरक्षाकर्मीसँग हुनुपर्ने पनि सम्मेलनमा आग्रह गरिएको छ,’ खाँडले भने ।
संयुक्त राष्ट्रसंघले २०७२ बाट एक वर्षमा एक पटकमात्र मिसनमा जाने मापदण्ड बनाएको छ । सेनाले मिसनमा जाने थप इन्फेन्ट्री (स्थल सेना) बटालियन, स्पेसल फोर्स र इन्फेन्ट्री कम्पनी गरी तीन टोलीलाई तयार गरिसकेको छ । बटालियनमा ८ सय ५० तथा कम्पनी र फोर्समा एक सय ५० भन्दा माथि र २ सयभन्दा तलसम्म सैनिक संख्याको टोली हुन्छन् ।
राष्ट्रसंघकै मागअनुसार सेनाले शान्ति स्थापना मिसनमा जाने आफ्ना सैनिकहरूलाई थप प्रशिक्षण दिन थालिसकेको छ । समय अनुसार आफ्ना सैनिकलाई मानसिक र प्राविधिक रूपमा बलियो बनाउनु पर्ने उल्लेख गर्दै सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका लागि थप कार्यक्रमहरू अघि सारेको छ । सेनाले भौतिक पूर्वाधार निर्माण गतिलाई उहि रुपमा अघि बढाएको जनाएको छ । सेनाले शान्ति स्थापना गर्न जाने नेपाल प्रहरी र शसस्त्र प्रहरी बललाई समेत एकै स्थानमा राखेर एकीकृत शान्ति स्थापना मिसन प्रशिक्षण दिने योजना बनाइरहेको सेनाले जनाएको छ ।
सन् १९५५ मा राष्ट्रसंघको सदस्य लिएको नेपालले तीन वर्षपछि पर्यवेक्षकको भूमिका निर्वाह गरेको थियो । नेपालले सन् १९७४ देखि शान्ती सेना पठाउन थालेको हो । सेनाका अनुसार हालसम्म नेपालका करिब एक लाख १४ हजार सैनिकले मिसनमा सहभागिता जनाएका छन् । जसमा ८ सय ६४ महिलाको सहभागिता रहेको छ । मिसनका दौरान ६३ जनाले ज्यान गुमाएका छन् भने ५९ सैनिक घाइते भएका छन् । शान्ती मिसनमा जानु अघि नेपाली सैनिकलाई वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा प्रशिक्षण दिइन्छ । मिसनमा स्थल सैनिकमात्र नभएर इन्जिनियर, डाक्टर, स्पेशल फोर्स जस्ता टोलीलाई समेत सहभागिता गराइएको सेनाले जनाएको छ । नेपाल राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा सैनिक पठाउने मुलुक मध्येमा छैटौ नम्बरमा पर्छ । अन्य मुलुकसँग प्रतिस्पर्धा गरि शान्ती मिसनमा जान अब नेपाल सरकारले त्यहि अनुसार सेनाको तयारी गर्ने मन्त्री खाँडले बताए ।

















प्रतिक्रिया