भक्तपुर, १७ भदौ । मर्मत र जीर्णोद्धारमा चासो नदिँदा भक्तपुरको एकमात्र राष्ट्रिय कला सङ्ग्रहालय भासिन थालेको छ । वर्षाको पानीको निकास प्रभावकारी रुपमा नहुँदा सङ्ग्रहालयको जगभित्र पानी पस्न थालेपछि सङ्ग्रहालय भासिन थालेको हो ।
सङ्ग्रहालयकी प्रमुख अरुणा नकर्मीले जगमा पानी पस्दा सङ्ग्रहालयको भवन नै कमजोर बन्दै गएको बताइन् । सङ्ग्रहालय प्रवेश गर्ने द्वारपालका रुपमा रहेका ढुङ्गाको सिंह भासिँदै गएर ढल्किसकेको उनले बताइन् ।
मल्लकालमा बनेको भवनमा मल्लकालीन झ्याल र खम्बा भए पनि भवनको गाह्रो कमजोर बन्दै गएको जानकारी दिँदै उनले भवन नै मर्मत गर्न हतारो भएको जानकारी दिइन् ।
सङ्ग्रहालयको पहिलो तला २०६९ सालमा स्केनिङ गरेर मर्मत गरिए पनि दोस्रो र तेस्रो तला भने स्केनिङ गर्न अति हतार भइसकेको छ । तल मल्लकालीन कलात्मक शैलीको भवन र माथि लाल बैठक रहेको राष्ट्रियस्तरको सङ्ग्रहालय भए पनि वार्षिक बजेट अति न्यून हुँदा काम गर्न समस्या आएको हो ।
कार्यालय प्रमुख नकर्मीले भनिन्, ‘यो राष्ट्रियस्तरको सङ्ग्रहालय हो, सोहीअनुरुप यसको विकास हुनुपर्ने हो तर हरेक वर्ष २१ लाख आउने वार्षिक बजेट बल्ल २६ लाख पुगेको छ, त्यसले कार्यालय सञ्चालन गर्न मुस्किल हुन्छ ।’
सङ्ग्रहालयभित्र मल्लकालमा राजारानी रमाइलो गर्ने आकर्षक मालती चोक पनि व्यवस्थित हुन सकेको छैन । बगैँचा व्यवस्थित हुन नसक्दा पर्यटक लोभिन नपाएको सङ्ग्रहालयका कर्मचारी बताउँछन् ।
सङ्ग्रहालयको भित्र रङ्ग खुइलिएको छ भने बहुमूल्य कला सजाइएका कपडाहरु पुरानो भएर च्यादर भइसकेका छन् । कपडाहरु च्यातिएर कला नै मासिने अवस्थामा पुगिसकेको छ भने कयौँ कलाहरुमा रङ्ग लगाउनु अति आवश्यक भइसकेको छ ।
सङ्ग्रहालयमा सौर्य बत्ती नहुँदा थप समस्या आएको छ । लोडसेडिङको समयमा जेनेरेटर बाल्दा पनि त्यसको थर्काइले सङ्ग्रहालयको भवनमा असर पारिरहेको नकर्मीले बताइन् ।
सङ्ग्रहालयको छाना मर्मत नहुँदा पानी चुहिने समस्या देखिन थालेको छ । गत वर्ष २० लाख खर्च गरी लाल बैठकलगायत केही कोठामा रङ्ग लगाइएको र एउटा शौचालय निर्माण गरिएको थियो ।
ढल निकासको व्यवस्था गर्नुका साथै पहिलोपटक राजाका तस्बिरलाई रङ्गिन छपाइ गरेर राख्ने कामको सुरुवात गरेको नकर्मीले बताइन ।















प्रतिक्रिया