– मोहन पौडेल
परासी, १० कात्तिक । डिभिजन सहकारी कार्यालय नवलपरासीले जिल्लास्थित सहकारी संघ संस्थाहरुको अनुगमनलाई तिव्र पारेको छ ।
धेरैजसो सहकारी संस्थाहरु सहकारी ऐन नियम तथा विनियम विपरित सन्चालन भईरहेको पाईएपछि सहकारी संस्थाको अनगुमन थालिएको कार्यालयले जनाएको छ ।
पहिलो चरणमा नवलरासीको दाउन्ने पश्चिमका क्षेत्र नं. ४, ५ र ६ का ७५ वटा संस्थाहरुलाई अक्षित गरि अनुगमन भईरहेको डिभिजन सहकारी कार्यालयका प्रमुख बुद्धप्रकाश पौडेलले जानकारी दिनुभयो। कार्तिकको सुरुवात देखि नै थालिएको अनुगमन कार्य अन्तरगत अहिले सम्म तिस वटा संस्थाहरुमा अनुगमन गरिसकिएको र अनुगमन जारी रहेको प्रमुख पौडेलले बताउनुभयो ।
खासगरि अधिकांश सहकारीहरुले आफनो विनियममा नभएका पदहरु सिर्जना गरि चुनाव गराउदैँ आएको, विनियममा नभए पनि ऋण लगानी गर्दा सेवा शुल्क, प्रवेश शुल्क निले गरेको, सहकारीमा गरिएको बचतको व्याज नदिएको तर ऋणबाट व्याज लिने गरेको, एउटा सहकारी संस्थामा सन्चालक रहेकाहरु अर्काे सहकारीमा पनि सन्चालन बसेको, लगायतका गुनासोहरु आएपछि अहिले परासी क्षेत्रमा अनुगमन तिव्र पारिएको कार्यायले जनाएको छ ।
यस्तै सहकारीले लगानी गरेको ऋणको जोखिम, सहकारीको शुसासनलाई पनि अनुगमनमा हेरिने सहकारी निरिक्षक कमलप्रसाद पोखरेलले बताउनुभयो । अनुगमन पछि अनुगमनको प्रतिवेदन तयार पारि सम्बन्धित सहकारीलाई सुधारका लागि आग्रह गरिने कार्यालयले जनाएको छ ।
यसअघि सहकारीको नियमन गर्ने डिभिजन सहकारी कार्यालयले अनुगमन नगरेको भन्ने गुनासो आएकाले आफू डिभिजन सहकारी कार्यालयमा प्रमुख भएर आएपछि अनुगमनलाई प्राथमिकता दिएको सहकारी अधिकृत बुद्ध प्रकाश पौडेलले बताउनुभयो ।
















प्रतिक्रिया