– झलक पाली
डोटी, ८ कात्तिक । डोटीको बुडर–जोरायल सडक–खण्डमा बस सञ्चालनको अनुमति दिईएता पनि निकै जोखिमयुक्त देखिएको छ ।
उक्त सडकखण्डमा २०७३ सालको विजयादशमीको बेलामा बस सञ्चालनको अनुमति दिईएको भएता पनि सडकको चौडाई, साँगुरा मोड, चिप्लो बाटो, मनोमानी यात्रु चढाउने तथा सरसामान बोक्ने व्यवहार कायमै रहेकाले यात्रा निकै जोखिमपूर्ण देखिएको हो ।
डोटीका प्रमूख जिल्ला अधिकारी केशवप्रसाद आचार्य, यातायात व्यवसायी समितिका पदाधिकारी, राजनीतिक दल, स्थानीय विभिन्न सरोकारवालाहरुको सर्वपक्षिय सहमतीमा बुडर–बाँझिलेक सडकखण्डमा बस सञ्चालनको अनुमती दिएको थियो ।
वि.सं.२०७१ असोज २० गते सो सडकखण्डको छतिवन–५, कठपत्तेमा २९ जनाको ज्यान जाने गरि भएको बस दुर्घटनापछि उक्त सडकखण्डमा बस सञ्चालनमा अनुमति दिईएको थिएन ।
विशेष गरि सुदूरपश्चिम यातायात व्यवसायी समिति, बस व्यवसायीहरु र जोरायल क्षेत्रका केहि स्थानीय बासिन्दासमेतको दवावमा उक्त क्षेत्रमा यस वर्षको दशैंभन्दा पहिले नै बस सञ्चालनको अनुमति दिईएको हो ।
डोटीका प्रमूख जिल्ला अधिकारी केशवप्रसाद आचार्यका अनुसार त्यस बेला बुडर–जोरायल सडकखण्डमा बुडर–बाँझिलेकसम्म मात्रै बस सञ्चालन अनुमति दिईएको भए पनि सेती अञ्चल यातायात व्यवस्था समितिले बुडर–जोरायलसम्म नै बस सञ्चालन अनुमती दिईएको सुन्नमा आएको र यसको आधिकारिक जानकारी आफुलाई नभएको बताए । यस विषयमा आफुले सम्बन्धीत निकायमा तत्काल बुझेर आफ्नो तवरले सम्पन्न गर्न सकिने काममा कडाईका साथ लाग्ने प्रजिअ आचार्यले बताए । यस बारेमा सेती अञ्चल यातायात व्यवस्था समितिमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
यहि कार्तिक ६ गते मात्रै उक्त सडकखण्डको गुयली भन्ने ठाउँमा बुडर–बाट जोरायल जाँदै गरेको ना.१ ज. ३११८ नं.को जिप दुर्घटना हुँदा चालक सहित ७ यात्रुहरु घाईते भएका छन् ।
स्थानीय बासन्दिा गमबहादुर खड्काका अनुसार जिप चालक राम बिष्टको टाउकोमा गहिरो चोट लाग्दा १८ टाँका लागेको र अन्य यात्रुहरु सामान्य घाईते भएका छन् ।
घटनामा ठूलै मानविय क्षती नभए पनि ठूलो दुर्घटना निम्तिन सक्ने संकेतका रुपमा लिन सकिन्छ । त्यस क्षेत्रमा सवारी साधनहरुमा अहिले पनि अत्यधिक यात्रुहरु बोक्ने गरिएको देखिन्छ ।
सो क्षेत्रमा नियमित सवारी साधन चलाउने तर नाम बताउन नचाहने एक जिप चालकका अनुसार १४ जनाको अनुमती पाएको महिन्द्रा जीपमा ३२ जनासम्म बोकेको सुनाए । जीप मालिकसँगै हिड्ने गरेको र क्षमताभन्दा बढि यात्रु बोक्न लगाएको उनले बताए ।
उक्त क्षेत्रमा हालका लागि तोकिएको सवारी भाडादरमा पनि मनोमानी छ । गएको भाद्र १७ गतेको जिल्ला यातायात व्यवस्थापन समितिले डोटी जिल्लाका ग्रामीण भेगका कच्ची सडकको भाडादर तोकेको थियो । जुन भाडादर मिति २०७३ असोज १८ गते डोटीका प्रजिअ आचार्यको संयोजकत्वमा बसेको बैठकले असोज २० गतेदेखि कडाइका साथ कार्यान्वयन गर्ने, प्रत्येक सवारी साधनले अनिवार्य रुपमा टिकट दिनुपर्ने, त्यसको अनुगमन यातायात व्यवस्था समिति र ट्राफिक प्रहरीले गर्ने तथा उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको थियो । तर जोरायल क्षेत्रमा बस भाडा एक सय ५०, जीपमा अगाडीतिर २ सय र पछाडी बस्ने यात्रुबाट एक सय ५० रुपैंया भाडा असुल्ने गरेको पाईन्छ ।
जिल्ला यातायात व्यवस्थापन समितिले गरेको डोटी जिल्लाका ग्रामीण भेगका कच्ची सडकको भाडादर अनुसार बुडर–बाँझिलेक सडकखण्डमा साना सवारी साधनमा प्रतिकिलोमिटर ६ रुपैंया र मिनिबसमा प्रतिकिलोमिटर ५ रुपैंया तोकिएको छ । जस अनुसार २६ किलोमिटर लम्बाई रहेको उक्त सडकखण्डमा साना सवारी साधनमा भाडा एक सय ५६ रुपैंया र मिनिबसको भाडा एक सय ३० रुपैंयाँ हुन आउँछ ।
उक्त सडकखण्डमा सरस्वतीनगरको रावतकट्टेमा ईलाका प्रहरी कार्यालय रहेको भएता पनि उक्त प्रहरी कार्यालय र बुडरसम्मको बिचमा प्रहरी बिट नहुँदा मनोमानी यात्रु चढाउने र भाडा असुल्ने गरेका कारण समस्या देखिएको छ ।
बाँझिलेकमा अस्थायी रुपमा भए पनि प्रहरी बिट राख्नुपर्ने सरोकारवालाहरुको माग छ । यस बिषयमा जिल्ला तहमा प्रहरी जनशक्ति कम भएकाले तत्काल व्यवस्थापन गर्न सम्भव नदेखिएको प्रमूख जिल्ला अधिकारी आचार्यले बताए ।
सडकका अप्ठेरा मोडहरु तथा साँगुरो भागमा तत्काल सुधार गर्ने गरी डोटीका सरकारी कार्यालय प्रमूखहरुको बैठकबाट निर्णय भईसकेको पनि प्रजिअ आचार्यले नजर नेपाली साप्ताहिकलाई जानकारी दिए ।
गत वर्ष टेन्डर भई डबल कटिङ्ग भईरहेको सो सडकखण्डमा छतिवनको कटपत्तेसम्म मात्रै लगभग काम सम्पन्न भएको छ ।
उक्त सडकखण्डमा प्रशासन, यातायात व्यवसायी समिति, सवारी चालक, सवारी धनी, स्थानीय सरोकारवाला तथा यात्रु समेतले समयमै सचेत नभए जुनसुकै बेला अप्रिय घटना हुनसक्ने देखिन्छ ।













प्रतिक्रिया