पाल्पा, ६ कात्तिक । पानीको अभाव देखिएका पहाडका खेतबारीमा प्लास्टिक पोखरीमा सङ्कलित पानीले तरकारी खेतीमा सिँचाइ गर्न थालेका छन् ।
पाल्पामा वर्षातको पानी सङ्कलित पानीले तरकारी खेतीमा सिँचाइ हुन थालेपछि तरकारीखेती समेत बढेको हो । पोखरीमा सङ्कलित पानी जतिबेला भनेपनि तरकारी खेतीमा सिँचाइ गर्न पाउने भएपछि यहाँका किसान प्लास्टिक पोखरीप्रतिको मोह बढेको छ ।
पानीको अभाव हुने पहाडी जिल्लाका खेतबारीमा प्लास्टिक पोखरीमा सङ्कलित पानीले सिँचाइ गर्न पाउँदा किसानलाई राहत भएको छ । पानीको अभावमा तरकारीखेती गर्न वञ्चितले पोखरी निर्माण गरी अहिले तरकारीखेती गरी आम्दानी गर्न थालेका छन् ।
फागुन/चैतको गर्मी र सुख्खा मौसममासमेत बेमौसमी तरकारीखेती गर्न प्लास्टिक पोखरी लाभदायक हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । वर्षात्को पानीलाई सङ्कलन गरी राख्न र चाहिएको बेला सिँचाइ गर्न पाइने भएपछि पाल्पाका किसानले बर्सेनि प्लास्टिक पोखरी निर्माण गरी तरकारी खेती गर्दै आएका छन् ।
मुझुगका किसान रामबहादुर कार्कीकाअनुसार फागुनदेखि जेठसम्म प्लास्टिक पोखरीले तरकारी खेतीका लागि फाइदा दिने गरेपछि पानीको समस्या भएको स्थानमा पोखरी लोकप्रिय बनेको छ । २०५७ सालदेखि जिल्लाका ४० बढी गाविसमा– पाँचसय बढी प्लास्टिक पोखरी निर्माण भएका छन् ।
किसानले ६० हजार र एक लाख २० हजार लिटर क्षमताका प्लास्टिक पोखरी बनाएका छन् । एउटा मात्र प्लास्टिकको पोखरी निर्माण गर्ने किसानले प्रोत्साहनस्वरुप प्लास्टिक खरिदमा ५० प्रतिशतसम्म अनुदान पाएका छन् । दलितको हकमा भने ९० प्रतिशत अनुदान पाउने गरेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक मोहन सिंहले बताउनुहुन्छ ।
गत वर्ष मात्रै प्लास्टिक पोखरी बनाउन १०० भन्दा बढी माग जिल्ला कृषि विकास कार्यालयमा आएको थियो । कार्यालयले जिल्लाभरिका किसानलाई सकेसम्म धेरै किसान लाभान्वित हुने गरी वितरण गदैैै आएको छ ।
ठिमुरे गाविसका ताराबहादुर जीसीले प्लास्टिक पोखरी बनाएपछि बेमौसमी गोलभँेडाखेती गरेर राम्रो आम्दानी गर्न सफल भएको बताउनुहुन्छ । सुख्खा याममा प्लास्टिक पोखरी बरदान नै हुने गरेपछि पानी सङ्कलन गर्ने र पछि प्रयोगमा ल्याउन सहज हुने प्रयोगकर्ताको दाबी छ ।
पालुङमैनादी गाविस दोलखबहादुर कार्कीका अनुसार बेमौसमी तरकारी र फलफूलखेती गर्न सस्तो र उपयुक्त भएकाले किसान सिँचाइका लागि पोखरीप्रति आकर्षित हुन थालेका छन् । पोखरीमा चैत वैशाखमा माटोमा पानी सोसिन्छ तर प्लास्टिक बिच्छ्याएर बनाउँदा पानी सोसिन नपाउने जिल्ला कृषि विकास कार्यालयका प्राविधिक ज्ञानकुमार यादवको भनाइ छ ।
६० हजार लिटरसम्मको प्लास्टिक पोखरी बनाउँदा बढीमा २५ हजार खर्च हुन्छ । किसानले पोखरीबाट एक सिजनमा पाँच रोपनी क्षेत्रफलमा सिंचाइ सुविधा प्रयोग गर्दछन् । रासस
















प्रतिक्रिया