काठमाडौं, ४ कात्तिक । नेपाली कांग्रेसका नेताहरूले सत्ता गठबन्धनको भावना विपरित गएर नेकपा (माओवादी केन्द्र) र प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव संसदमा अगाडि बढाएको आरोप लगाएका छन् ।
ललितपुरस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले लोकमान सिंह कार्कीको व्यक्तिगत विषयमा जनमानसमा नकारात्मक धारणा रहे पनि प्रधानमन्त्रीले कमद उठाउँदा कांग्रेससँग परामर्श नगरेकोमा असन्तुष्टि जनाएका हुन् ।
बैठकका विषयमा जानकारी दिँदै केन्द्रीय सदस्य रामकृष्ण यादवले प्रधानमन्त्रीले कांग्रेससँग कुनै ठोस सल्लाह र परामर्श नगरिकनै महाअभियोगको प्रस्ताव संसदमा अगाडि बढाएकोमा नेताहरूले असन्तुष्टि जनाएको बताउनुभयो ।
‘प्रधानमन्त्री र नेकपा माओवादी केन्द्रले कांग्रेससँगको सत्ता गठबन्धनको भावना विपरितको कार्य गरेको नेताहरूले महसुस गर्नु भएको छ’, उहाँले भन्नुभयो, ‘लोकमान सिंह कार्की ठीक छन् भन्ने कांग्रेसको भनाइ छैन । तर सत्तारुढ गठबन्धन दल भएकाले नाताले कांग्रेससँग मिलेर प्रधानमन्त्री अगाडि बढ्नु पर्ने थियो ।’
बैठकमा गृहमन्त्री विमलेन्द्र निधिले पनि प्रधानमन्त्रीले कांग्रेसलाई पूर्व जानकारी नदिएर महाअभियोगको प्रस्ताव अगाडि बढाएको भन्दै असन्तुष्टि जनाउनु भएको छ ।
कांग्रेसको बैठकको सुरुमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीले कार्कीलाई महाअभियोग लगाउने विषयमा आफूसँग सामान्य परामर्श गरेको जानकारी गराउनु भएको थियो ।
‘प्रधानमन्त्री र ओलीजीले मसँग कुरा राख्नु भएको थियो’, देउवाको भनाइ उदृत गर्दै केन्द्रीय सदस्य यादवले भन्नुभयो, ‘मैले यति गम्भीर विषय एक्लैले निर्णय गरेर हुँदैन भोलि पार्टीको बैठक छ । पार्टीमा सल्लाह गरेर निर्णय दिन्छु भनेको थिएँ । तर उहाँहरूले यति हतारमा महाअभियोग प्रस्ताव संसदमा दर्ता गराउनु हुन्छ भन्ने मैले सोँचेको पनि दिइन ।’
सभापति देउवाको कुरा सुनेपछि नेताहरूले महाअभियोग प्रस्तावका विषयमा प्रधानमन्त्री, माओवादी केन्द्र र एमालेसँग परामर्श गरेर अगाडि बढ्न सुझाव दिएका थिए ।
बिहीबारको बैठकमा सभापति देउवाका साथै केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा.रामशरण महत, महेश आचार्य, गगनकुमार थापा, रामकृष्ण यादव, कल्याण गुरुङ र विश्वप्रकाश शर्माले धारणा राख्नु भएको थियो । कांग्रेसको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।











प्रतिक्रिया