काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई क्यान्सरले पनि केही गर्न नसक्ने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्राकृतिक प्रकोपपीडितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने राहत रकम ग्रहण गर्दै उहाँँले भन्नुभयो – “मलाई क्यान्सरले पनि केही गर्न सक्दैन । मैले नै क्यान्सरलाई खाइसकेँ ।”
उहाँले देशको विकासका लागि काम गर्ने समय आएको पनि बताउनुभयो । उहाँले ६० वर्षदेखि मुलुक अँध्यारोमा रहेको बताउँदै विकासका प्रयासमा साथ दिन पनि आग्रह गर्नुभयो ।
हालै नेपाल भ्रमणमा आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देखाउनुभएको सद्भावलाई सदुपयोग गर्न पनि प्रधानमन्त्री कोइरालाले आग्रह गर्नुभयो । “भारतले जुन सौहार्दता देखाएको छ, त्यसको सम्मान गर्नुपर्दछ र समानताको आधारमा सम्बन्ध विकसित गर्नुपर्दछ,” प्रधानमन्त्री कोइरालाले भन्नुभयो – “नेपाललाई तल पारेर गर्नु हुँदैन ।”
प्रधानमन्त्री कोइरालाले नेपालमा जनताले चाहेजस्तो राजनीतिक प्रणाली प्राप्त भइसकेको अबको समय विकास निर्माणमा लगाउनुपर्ने विचार व्यक्त गर्नुभयो । “अब देशमा शान्ति, स्थायित्व, लोकतन्त्र र लोकतान्त्रिक संविधान आउँछ,” प्रधानमन्त्रीले भन्नुभयो – “नेपालले उज्यालो पाउँछ ।”
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार वल्र्ड लिङ्क कम्युनिकेसनले पाँच लाख रुपैंया प्रदान गरेको छ । कम्युनिकेसनका प्रवीण श्रेष्ठले रकम उल्लिखित चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा मनाङ सेवा समिति, मनाङ–मस्र्याङदी क्लब, न्यासाङ मनाङ वुमेन सोसाइटी र मनाङ वुमेन इम्पावरमेन्ट संस्थाका तर्फबाट एकमुष्ट चार लाख २१ हजार प्रदान गरियो । मनाङ सामाजिक विकास सेवा समितिका अध्यक्ष मानबहादुर गुरुङले सो रकम प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
सोमबारै टुरिज्म डेभलपमेन्ट बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख ५१ हजार प्रदान गरेको छ । बैंकका कार्यकारी अधिकृत मनोज खड्काले प्रधानमन्त्री कोइरालालाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।
सोमबार बिहान आयोजित कार्यक्रममा महाराजगन्जमा अवस्थित हिमशिखर सोसल कल्चरल सोसाइटीले रु एक लाख ३० हजार प्रदान गरेको छ । सो संस्थाले पहिरो र बाढीपीडितहरुका लागि अष्ट्रेलियाबाट थप रकम उठिरहेको पनि जानकारी गराएको छ ।
सोमबारै सगरमाथा मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले एक लाख पाँच हजार ५५५ प्रदान गरेको छ । फाइनान्सका कार्यकारी अधिकृत सरोज राईले सो रकम उल्लिखित चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तै गामबेँसी दोहोरी नाचघरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख १११ सहयोग गरेको छ । सोमबारै नवकाभ्रेली बचत तथा सहकारी संस्था महाबौद्धले ३० हजार, स्मरण बचत तथा सहकारी संस्था बागबजारले १६ हजार, काभ्रे समाजले रु ११ हजार १११, काठमाडाँै मुद्रण उद्योग सङ्घले ११ हजार १११ र सुभासचन्द केसीले व्यक्तिगत सहयोग १० हजार प्रदान गर्नुभएको छ । रासस
















प्रतिक्रिया