काठमाडौँ, १५ भदौ । विभिन्न राजनीतिक दलका नेताले मन्त्रिपरिषद्ले नियुक्ति गर्ने २६ सभासद् मध्येको नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
आइतबार राजधानीमा आयोजित साक्षात्कारमा नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले आफ्नो पार्टीले संविधानसभामा २६ जनाभित्र पठाएको आठ जनाको बारेमा आफूलाई जानकारी नभएको र पार्टीभित्र पनि कुनै छलफल नभएको बताउनुभयो ।
सत्यनिरूपण, मेलमिलाप तथा बेपत्ता आयोग गठन तथा शान्ति प्रक्रियालाई पूर्णता दिँदै सबै राजनीतिक दलको सहमतिमा माघ ८ गतेभित्र संविधान जारी गर्नुपर्ने उहाँको भनाइ छ ।
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको केन्द्रीय समितिलाई वेवास्था गरेर गरिएको सभासद्को नियुक्ति पार्टीको संस्थागत निर्णयबाट नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले एकीकृत नेकपा (माओवादी) लगायत प्रतिपक्ष दलले विभिन्न बाहना झिकेर निर्धारित समयमै संविधान निर्माण गरी जारी गर्ने कार्यलाई प्रभावित गर्न खोजेको आरोप लगाउनुभयो ।
एनेकपा (माओवादी) का नेता टोपबहादुर रायमाझीले सत्तारुढ दलहरूले सहमति विपरीत पेलेर जान खोजेको आरोप लगाउँदै चारबुँदे सहमतिअनुसार राजनीतिक समिति गठन नभएसम्म संसद चल्न नदिने बताउनुभयो ।
नेकपा–माओवादीका सचिव देव गुरुङले सहमतिको एक मात्र विकल्प सर्वदलीय, सर्वपक्षीय गोलमेच सम्मेलन भएको हुँदा त्यसतर्फ केन्द्रित हुन दलहरूलाई आग्रह गर्नुभयो । रासस
















प्रतिक्रिया