काठमाडौं, २० असोज । नेपाली हवाई उद्योगमा फेरी एउटा हेलिकप्टर कम्पनी थपिएको छ । एयरलाइन्स अपरेटर्स एसोशिएसन नेपाल (आयोन)का अनुसार हालै थपिएको अल्टिट्युड एयरसहित नेपालमा हेलिकप्टर कम्पनीको संख्या आठ पुगेको छ । यी सबै कम्पनीले नागरिक उड्डयन प्राधिकरणमा २९ वटा हेलिकप्टर दर्ता गराएपनि हाल १८ वटा हाराहारी हेलिकप्टर मात्रै उडानमा छन् ।
पर्यटन मन्त्री कृपाशुर शेर्पाको कार्यकालमा एयरलाइन्स अपरेटर्स सर्टिफिकेट (एओसी) लिएको अल्टिट्युड एयरले युरोपको एयरबस कम्पनीले उत्पदान गरेको बिथ्री–ई हेलिकप्टर ल्याइसकेको छ । यसमा ५ जना नेपाली पर्यटन व्यवसायीसहित अन्यको पनि लगानी छ । जसमा मुख्य लगानीकर्ता यती/तारा एयरलाइन्सका अध्यक्ष शोनाम शेर्पा यस कम्पनीका पनि अध्यक्ष हुन् । उनको यस कम्पनीमा लगानीको हिस्सा अन्यको दाँजोमा धेरै छ । अन्य लगानीकर्तामा चोयू ट्रेकिङ्का सञ्चालक निमा नोरु शेर्पा, हिमालयन सोसल जर्नीका सञ्चालक राम प्रसाद सापकोटा, हिमालयन शेर्पा एडभेन्चरका सञ्चालक फुर्वा ग्याल्जेन शेर्पा र सांग्रिला नेपाल ट्रेकिङ्का सञ्चालक जीवन घिमिरे छन् ।
लगानीकर्तामध्येका सापकोटाले यो हेलिकप्टरको मूल्य २७ करोड रुपैयाँ परेको बताए। सापकोटाका अनुसार, इटालीबाट पानीजहाजमा कार्गो गरेर ल्याइएको यो हेलिकप्टर भारतको कोलकाता हुँदै काठमाडौंमा लरीमा ल्याइएको हो । यस्लाई एयरबसका इन्जिनियरहरुले त्रिभुवन विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा एसेम्बल गरेका थिए । बिहीबारसम्म अल्टिट्युडको यो हेलिकप्टरले नागरिक उड्डयन प्राधिकरणका सबै प्रक्रिया पूरा गरीसकेको कम्पनीले जनाएको छ । ‘हामीले सबै प्रक्रिया पूरा गरेर चार्टर उडान गर्न तयारी अवस्थामा पुगेका छौं,’ सापकोटाले भने, ‘क्यानडामा एउटा सम्मेलनमा भाग लिन गएका प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमलाई कुरेर बसेका छौं ।’
केही महिनाभित्र यही मोडलको अर्को हेलिकप्टर ल्याउने योजना बनाएको अल्टिट्युडले यो हेलिकप्टर उडाउनकालागी एक जना इटालियन पाइलट र नेपाली सेनाका अवकाशप्राप्त हेलि पाइलट प्रमोदकुमार लामालाई नियुक्त गरेको छ ।
कान्तिपुर दैनिकमा समाचार छ ।
















प्रतिक्रिया