विराटनगर, २१ असोज । नेपालका लागि बेलायती राजदुत ड्युब जोयस नेकपा एमाले मोरङको कार्यालय गई स्थानीय गतिविधिबारे पार्टीको धारणा बुझेका छन् । बुधाबार एमाले मोरङका अध्यक्ष महेश रेग्मीसँग दुई घण्टा लामो वार्तालाप गरी उनले एमालेको धारणा बुझेका हुन् ।
स्थानीय राजनीतिककर्मी तथा अन्य प्रबुद्ध व्यक्तिहरूसँग भेटघाट गर्न पूर्वाञ्चल आएका उनले वर्तमान अवस्थाको गतिविधि, स्थानीय तह पुनर्संरचना, संविधानको कार्यान्वयन, संविधान संशोधन, स्थानीय निर्वाचन तथा विकास गतिविधिबारे जिज्ञासा राखेको रेग्मीले बताए ।
सो क्रममा अध्यक्ष रेग्मीले संविधान संशोधन आन्तरिक मामिला भएकोले सबै दल मिलेर आफै संसोधन गर्ने यसमा मित्र राष्ट्रहरूले हस्तक्षेप गर्न नहुने बताए । देशको परिवर्तित स्थितिमा स्थानीय तहको पुनर्संरचना तथा निर्वाचन गर्नुपर्ने एवं संविधान कार्यान्वयन गर्न एमालेको पनि जिम्मेवारी रहेको बताएका थिए ।
बेलायतसँगको २ सय १ वर्ष लामो सम्बन्ध नेपालीले रगत बगाएर भएकोले बेलायतबाट त्यही किसिमको सम्बन्ध राख्नुपर्नेमा आफूले जोड दिएको रेग्मीले बताएका थिए । पहिले राजनीतिक अधिकारका लागि लडेकोले देश सम्बृद्ध नभएको जनाउँदै अब आर्थिक रूपान्तरणको माध्यमबाट विकासलाई उच्च तहमा पुर्याउन लाग्ने बताएका थिए ।
बेलायती राजदुत जोयसले पार्टीका केन्द्रीय नेता तथा राजधानीका प्रबुद्ध वर्गको विचार र स्थानीय राजनीतिककर्मी र प्रबुद्ध वर्गको धारणा समान छ या फरक छ भनेर बुझ्न विराटनगर आएको बताएका थिए ।
बेलायती राजदुत जोयसले स्थानीय राजनीति पार्टीका अध्यक्षसँग छलफलका लागि सोमबार नै विराटनगरस्थित स्टर्नस्टार होटलमा छुट्टछुट्टै बोलाएका थिए । सो क्रममा एमाले मोरङका अध्यक्ष रेग्मीले एमालेको धारणा बुझ्ने हो भने एमाले पार्टी कार्यालयमै आउनुपर्ने भनेपछि बुधबार राजदुत जोयस पाञ्चालीस्थित एमाले पार्टी कार्यालयमा आएका हुन् । होटलमा छलफलका लागि एमाले अध्यक्षलाई आधा घण्टा समय छुट्याएका उनले पार्टी कार्यालयमा भने दुई घण्टा बिताए ।












प्रतिक्रिया