काठमाडौं, २० असोज । नेपाली कांग्रेसले राजनीतिक दलसम्बन्धी विधेयकका बारेमा पार्टीभित्र छलफल चलाएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बिहान बसेको बैठकमा संसदमा पेश भएको राजनीतिक दलहरूसम्बन्धी विधेयकमा के कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल भएको कांग्रेस सभापति शेरबहादुर देउवाका सल्लाहकार एवम् सहयोगी केशव जोशीले जानकारी दिनुभयो ।
‘संसदमा दर्ता भएका र पेश भएका विधेयकहरूका बारेमा आजको बैठकमा कुराकानी भयो’, उहाँले भन्नुभयो, ‘आजको छलफल सक्किएको छैन । शीर्ष नेताहरू र संसदीय दल कार्यसमितिको बैठक भोलि शुक्रबार बिहान पनि बस्छ ।’
बैठकमा सभापति देउवाले संसदमा पार्टीको प्रभावकारी भूमिकाका विषयमा कुरा राखेका थिए । त्यसपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफ्नो धारणा राखेको बुझिएको छ ।
स्रोतका अनुसार वरिष्ठ नेता पौडेलले पार्टीमा बेलाबेला राजनीतिक विषयहरूमा छलफल हुन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको थियो ।











प्रतिक्रिया