काठमाडौं, २० असोज । उपकरणहरु खरिद गर्ने नाममा मोबाइल सेवा प्रदाय कम्पनी स्मार्ट टेलिकम प्रालिले अर्बौ रकम अपचलन गरेको छ ।
स्मार्टले चिनियाँ कम्पनी जेटिइ कर्पोरेसनसँग टेलिकम सम्बन्धी विभिन्न उपकरणहरु खरिद गर्दा वास्तविक मुल्य १० करोड ६० लाख रुपैयाँ पर्ने उपकरणमा ४ अर्ब १३ करोड ३९ लाख ९० हजार ४ सय ६० रुपैयाँ भुक्तानी गरी अर्बौ मुद्रा अपचलन गरेको हो ।
असारमा स्मार्ट र जेटिइबीच टेलिकमका सामग्री आयात गर्ने सम्झौता भएको थियो ।
सामान आयात गर्न नेपाल इन्भेष्टमेन्ट बैंकमा प्रतितपत्र(एलसी) समेत खोलिएको थियो ।
तर सामान आउनुपूर्वनै जेटिई कर्पोरेसनलाई ३ करोड ९ लाख ९९ हजार ९ सय १० (अमेरिकी डलर) अर्थात् नेपाली रुपैयाँ ४ अर्ब २३ करोड ९९ लाख ९० हजार ४ सय ६० रुपैयाँ भुक्तानी दिइसकेको स्रोतको भनाइ छ ।
टेलिकमका सामान आयात गराउनुपूर्व सरकारी विभिन्न निकायहरुबाट आयात गरिने सामानको पूर्व स्वीकृत गराउनुपर्ने हुन्छ । तर स्मार्टले ती सामानको स्वीकृति समेत नगराई बैंकमा एलसी खोलेर सामान आयातको प्रक्रिया सुरु गरेको थियो ।
स्मार्ट टेलिकमले टेलिकमसम्बन्धी सामाग्री आयातका लागि सञ्चारमन्त्रालयमा कुनै पनि पत्र पेश नगरेकोे मन्त्रालयले बताएको छ ।
नेपाल दुरसञ्चार प्राधिकरणले भने स्मार्ट र जेटिइले आयात गर्न लागेको सामानहरुको विषय अनुसन्धान गरेपछि मात्र थाहा हुने बताएको छ ।
यता स्मार्ट र जेटिइबीचमा भएको सामान आयातको सम्झौतामा सरकारी निकायको आँखामा छारो हाल्न ३१ वटा सामानको सूची देखाइएको छ । स्मार्ट टेलिकमले आवश्यक पूर्वाधार तयार नगरेकै कारण फोरजी इन्टरनेट सेवाको लाइसेन्स पाएको छैन ।
स्मार्टको घोटाला विरुद्ध अख्तियारमा उजुरी परेपनि अहिलेसम्म अख्तियारले पत्र काटेर बुझ्ने प्रयास समेत गरेको छैन ।















प्रतिक्रिया