काठमाडौं, १९ असोज । मान्छे शक्तिले मैमत्त भएपछि लाज पचाएर जे पनि गर्छन् भन्ने कुरा फेरि पनि चरितार्थ भएको छ। असोज १० गते राति, ठमेलको डिस्कोमा ।
अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीको रवाफ लगाउँदै डिस्कोभित्र बाउन्सर र युवतीमाथि दुर्व्यवहार गर्दा लोकमानका बडिगार्ड डीएसपी दानबहादुर थापा मध्यरातमा भागाभागमा मात्र परेनन्, ठूलो दुर्घटनाबाट पनि बाँचे । घटनामा अख्तियार स्वामित्वको बा १२ च ९५५९ नम्बरको स्यान्ट्रो गाडी ध्वस्त छ । ठमेलस्थित होटल मर्स्याङ्दीअगाडिको (पहिलाको निश्चल हल) सिएनआई क्लब (डिस्को)मा झगडा भएको खबर पाएर सोह्रखुट्टे प्रहरी वृत्तको टोली नयाँ बजारबाट त्यसतर्फ हुइँकियो । तर, प्रहरी पुग्दा आफू लज्जित हुनुपर्ने कारण दानबहादुर साथमा रहेकी युवती सँगै त्यहाँबाट भागे । उनीसँग नेपाल प्रहरीकै अर्का एकजना डीएसपी पनि साथमा थिए । त्यस रातको कुटाकुटबाट घाइते भएका दुई युवती नजिकैको मनमोहन अस्पतालमा भर्ना भई भोलिपल्टै डिस्चार्ज भए । भाग्दै दरबारमार्गतिर हुइँकिएका दानबहादुरको गाडी अनियन्त्रित भई दुर्घटनामा पर्यो । गाडी कच्याककुचुक छ । तर, मान्छेलाई केही भएको छैन् । घटना भएको ९ दिन वितिसकेको छ । तर, अख्तियारको आम्दानीमा बाँधिएको बा १२ च ९५५९ नम्बरको गाडी कहाँ छ ? कसैलाई पत्तो छैन् । भोलिपल्ट अख्तियारमा उक्त गाडीको खोजी भयो । दानबहादुरले एक जना इन्जिनियरलाई सुनाए– ‘राति हल्का ठोक्किएर बनाउन दिएको छु ।’
ठमेलभित्र अख्तियारमा लोकमानको सुरक्षा र सुराकी दुबै प्रयोजनमा खटिएका डीएसपीका कारण बबाल भएको खबर प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याल कहाँपनि पुग्यो । हल्लिखल्ली भएपछि उपेन्द्रले छानविन गर्न निर्देशन त दिए । रमाइलो कस्तो छ भने, अहिले हेडक्वार्टरभित्रको एउटा निरीह युनिट दानबहादुरको यो काण्डबारे छानविन गरिरहेको छ । तर, त्यहीभित्रको सबभन्दा बलियो मानिने युनिट भने घटनालाई सामसुम पार्न सक्रिय छ । अर्थात देखाउनका लागि छानविन गर्ने तर, कारवाही नगर्ने योजना ! घटनालगत्तै केही प्रहरी उच्च अधिकारीले सोह्रखुट्टे वृत्तका डीएसपी सोमेन्द्रसिंह राठौरसँग यसबारे सोधे । तर, उनको टोली पुग्दा दानबहादुर नभेटिएको तर उनी घटनाको सुत्राधार भएको पत्ता लाग्यो ।
उता अख्तियारभित्र दानबहादुरको अर्काे आतंक छ । लोकमान क्यानडा हिँडेपछि मैमत्त भएर ठमेलमा घटना गराएका उनले अख्तियारभित्रै नेपाल टेलिकमको सिस्टम जडान गराएका छन् । जसबाट कल डिटेल्स छिनछिनमै हेर्ने गर्छन् । नेपाल टेलिकमले यस्तो सुविधा देशका कुनै पनि सरकारी वा गैरसरकारी निकायलाई दिएको छैन्, अख्तियारबाहेक ! संवेदनशील दृष्टिले त्यस्तो प्रविधि दुरुपयोग गर्न पाइँदैन् । त्यसरीस् टेलिकमको सिस्टम अख्तियारभित्रै जडान गर्नुको कारण हो , राजनारायण पाठकबाहेक सबै आयुक्तका कल डिटेल्स लिने, एसएमएस उतार्ने र लोकमानलाई जोहर गर्ने ! यस्तो सुराकी मुद्दा फाँटका कर्मचारीसहित त्यही कार्यरत प्रहरी उच्च अधिकारीको पनि हुने गरेको छ ।
जनआस्था साप्ताहिकमा खबर छ ।
















प्रतिक्रिया