१२ कार्तिक २०८३, बिहिबार

देउवालाई लाग्यो गम्भीर आरोप, समस्यामा पर्दै कांग्रेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sherbahadur-duba-ramchandra-poudelकाठमाडौं, १८ असोज । समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक नडाकिएको भन्दै कांग्रेसमा असन्तुष्ट बढेको छ ।

सभापति शेरबहादुर देउवा आफ्नो समूहमा मात्र सीमित भएको नेता रामचन्द्र पौडेल पक्षले आरोप लगाएको छ । आजका पत्रपत्रिकाले समाचार छापेका छन् ।

तत्काल केन्द्रीय समिति बोलाएर सबै विषयमा छलफल गर्न पौडेल पक्षले मागसमेत गरेको छ ।

‘संविधान संशोधन, राज्य पुनर्संरचना, पार्टीको आन्तरिक र सरकार सञ्चालनका विषयमा छलफल गर्दै धारणा बनाउन ढिला भइसक्यो’, पौडेल पक्षका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले भने, ‘हामीले सभापतिलाई केन्द्रीय समिति बैठक डाक्न भन्दै आएका छौँ, तर महत्वपूर्ण विषयमा पार्टीले धारणा बनाउनुपर्ने वेला उहाँले बैठक डाकिरहनुभएको छैन ।’

पार्टी सभापतिमा निर्वाचित भएपछि देउवाले तीनपटक केन्द्रीय समिति बैठक बोलाएका छन् ।

पछिल्लो बैठक ४ साउनमा बसेको थियो । बैठकले तत्कालीन प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव पारित गर्ने निर्णय गरेको थियो ।

पटक–पटक बैठक राख्न आग्रह गरे पनि सभापति देउवाले नडाकेको नेता पौडेलको भनाइ छ ।

‘संविधान संशोधन, स्थानीय तहदेखि थुप्रै समस्या समाधानका लागि बैठक डाकौँ र छलफल गरी धारणा बनाउन निरन्तर माग गर्दै आएका छौँ’, नेता पौडेलले भने, ‘हामीले खोजेको विधि, प्रक्रिया, पद्धति र समझदारी हो, त्योअनुसार जानुपर्छ भन्ने हो । सभापतिले बैठक डाक्न आनाकानी गरी कोठाबाटै पार्टी चलाउनुभएको छ ।’

दुई महिनाभित्र मनोनीत गर्नुपर्ने पदाधिकारी, केन्द्रीय समितिको पूर्णता, विभाग गठन, केन्द्रीय कार्यसम्पादन समिति गठन पनि सभापतिले गर्न नसकेको पौडेलको भनाइ छ ।

मन्त्री छान्दा पनि केन्द्रीय समितिले छलफल गरी संसदीय बोर्डले टुंगो लगाउनुपर्ने भए पनि त्यो हुन नसकेको आरोप उनले लगाए ।