सर्लाही, १५ भदौ । सर्लाहीको नोकेल्वा गाविसमा गस्ती प्रहरी टोली र अज्ञात हतियारीधारी समूहबीच गएराति गोली हानाहान भएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको मोटरसाइकल गस्ती टोलीमाथि नोकेल्वा–५ मा तीनजनाको सङ्ख्यामा रहेको हतियारधारी समूहले राति साढे ८ बजेतिर गोली प्रहार गरेको प्रहरी उपरीक्षक रवीन्द्रबहादुर धानुकले बताउनुभयो ।
दुईजनाको प्रहरी गस्ती टोलीमध्ये प्रहरी जवान सन्तोष महतो छर्रा लागेर घाइते भएका छन् । महतोको सदरमुकाम मलङ्गवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
लगत्तै जवाफी फायरिङ गरेपछि हतियारधारी समूह भागेको र घटनास्थलबाट एकथान नलकटुवा पेस्तोल र एकथान गोली बरामद भएको प्रहरी उपरीक्षक धानुकले जानकारी दिनुभयो । रासस
















प्रतिक्रिया