काठमाडौं, १४ असोज । भारतका कारण ओझेलमा परेको सार्कको १९ औं शिखर सम्मेलनबारे नेपाल सरकारले २४ घण्टामा दुई वक्तव्य जारी गरेको छ ।
बुधबार साँझ अंग्रेजी भाषामा जारी विज्ञप्तिमा पाकिस्तानलाई साथ दिँदै नेपालले सबै सदस्य राष्ट्र सार्क चार्टरको भावनाअनुरुप बढ्नुपर्ने र सार्क शिखर सम्मेलन तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिएको थियो ।
विज्ञप्तिमा भनिएको थियो– ‘सार्क अध्यक्ष देश हुनाका नाताले सार्कका सबै देशलाई नेपाल सरकार सार्कको वडापत्रको मर्मअनुसार सार्क शिखर सम्मेलन गर्नका लागि सबै सदस्य देशले आफ्नो सहभागिता सुनिश्चित गर्दै त्यसका लागि सुहाउँदो वातावरण बनाउन आग्रह गर्छ ।’
सार्कको अध्यक्ष राष्ट्रका हैसियतले बुधवार निकालेको पहिलो विज्ञप्तिलाई तुलनात्मक रुपमा सन्तुलित र तटस्थ मनिएको थियो ।
तर, यो वक्तव्य जारी भएको २४ घण्टा नवित्दै विहीबार दिउँसो परराष्ट्र मन्त्रालयले नेपाली भाषामा अर्काे विज्ञप्ति जारी गर्यो । दोस्रो विज्ञप्तिमा भारतको पक्ष लिँदै आयोजक राष्ट्र पाकिस्तानलाई विशेष जोड दिइएको छ । यसलाई धेरैले भारतीय दबाबमा आएको धारणा भनेका छन् ।
विज्ञप्तिमा सम्मेलनको उपयुक्त वातावरण निर्माण गर्न पाकिस्तानलाई आग्रह गरिएको छ ।
एउटा मात्रै राष्ट्र सहभागी नभए पनि सार्क सम्मेलन हुन नसक्ने बडापत्रमा रहेको स्मरण गर्दै दोस्रो विज्ञप्तिमा भनिएको छ– ‘सार्क सम्मेलन सम्बन्धमा खासगरी आयोजक राष्ट्र (पाकिस्तान)को तर्फबाट आवश्यक वातावरण बनाउन पहल हुनेछ भन्ने आशा गरिएको छ ।’
दोस्रो वक्तब्यको आशय बुझ्दा सम्मेलनमा सहभागी नहुने भनेका पक्ष (देश)लाई पुरै जोगाएर पाकिस्तानमाथि दबाब नेपालले दिएको देखिन्छ ।
उसो त प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दाहरुमा भारतसँग समान धारणा बनाएर अघि बढ्ने’ भनेर संयुक्त वक्तब्यमा हस्ताक्षर गरेका थिए । उक्त सहमतिको स्मरण गराउँदै भारतले दबाब दिएपछि बुधवार दिएको वक्तब्यको २४ घन्टा नवित्दै नेपालको परराष्ट्र मन्त्रालयले पाकिस्तानलाई दबाब दिन दोस्रो वक्तब्य जारी गरेको परराष्ट्र स्रोतले बतायो ।
सार्कको १९ औं शिखर सम्मेलन यही नोभेम्बर ९ र १० मा पाकिस्तानको इस्लामावादमा आयोजना हुँदैछ । जसमा नेपाल अध्यक्ष राष्ट्र रहेको छ ।
हेर्नुस् दुईटै विज्ञप्तिः













प्रतिक्रिया