१ कार्तिक २०८३, आइतबार

दयाहाङले केकीलाई भगाए! जमुनाटारमा हंगामा

29.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dayahang-and-keki-2

काठमाडाैं । सिन्धुलीमाडी नगरपालिका–५ जमुनाटारमा बुधबार बिहानैदेखि ठूलो खैलाबैला सुरु भयो । छिमेकी गाउँ निबुवाटारबाट कसैले केटी भगाएर ल्याएको खबर टोल छिमेकमा फैलिएको थियो ।

बीपी राजमार्गबाट झन्डै तीन किमि मात्रै भित्र रहेको यो चुरेक्षेत्रको चुरो कुरोचाहिँ के थियो भने अभिनेता दयाहाङ राईले अभिनेत्री केकी अधिकारीलाई भगाएर साथीको घरमा लुकाउन ल्याएका थिए । छिनभरमै भगौटा जोडीलाई हेर्न मान्छेहरूको भीड लाग्यो । दयाहाङ र केकी भने साथी पासाङको घरमा भात खाँदै थिए ।

एक्कासि केकी जुरुक्क उठिन् र बाहिर आइन् । उनले त उल्टी पो गर्न थालिन् । हल्का लाज मानेको भावमा आँगनमा देखिएका दयाहाङले केकीलाई सुस्तरी भने– ‘उल्टीचाहिँ नगरिहालेको भए हुने ।’ थोरै लजाउँदै केकीले जवाफ दिइन्, ‘अनि आइहाल्यो त । के गर्नु ।’

यो दृश्य र गाइँगुइँ साँच्चिकै भने थिएन । फिल्म ‘घामपानी’ को छायांकनस्थल भेला भएका दर्शक र फ्यानहरूका लागि चाहिँ यो निकै रमाइलो दृश्य थियो ।

दयाहाङसँग पहिलोपटक उनी अपोजिट रोलमा देखिन लागेकी हुन् । तैपनि यी दुईको हिमचिम निकै लोभलाग्दो थियो । उल्टी गर्नुपर्ने दृश्यमा पाँचपटक जाउलो मुखमा हालेर फ्याँक्नु परेकी केकीको जसै अन्तिम टेक लिइयो, दयाले क्यामेराको फ्रेमभन्दा बाहिर हात मिलाउँदै भने, ‘ल बधाई छ, आमा बन्न लागेकोमा ।’

गाउँको एक तामाङ मास्टरले बाहुनकी छोरी भगाएपछि आइपर्ने समस्या र त्यसपछि उत्पन्न हुने समाजको प्रतिक्रियामाझ अघि बढ्ने प्रेमकथा यो फिल्ममा हुने निर्देशक दीपेन्द्रले जनाए । ‘जाति–जातिबीच सहअस्तित्वको स्वीकार्यता र जातीय सद्भावलाई प्रेमकथाको मालामा उन्न खोजेको हुँ,’ पटकथासमेत आफंैले लेखेको लामाले भने ।

सिनेमा आर्टस, हाइलाइट्स नेपाल र टचलाइट प्रोडक्सनको ब्यानरमा बन्दै गरेको फिल्ममा अंकित खड्का, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे, कविता आले, अरुणा कार्की, लक्ष्मी बर्देवा, सम्रान्त थापा, केशव राई, प्रेमवर्षा खड्का, सिल्सा जिरेल लगायतको पनि अभिनय रहने बताइएको छ ।

शैलेन्द्र डी कार्कीको छायांकन रहने फिल्ममा कार्कीसँगै ओम गुरुङ, रौनकविक्रम कँडेल, ओमचन्द्र रौनियार र विश्व गौचनको लगानी रहने जनाइएको छ । कार्यकारी निर्माता भने मणिराम पोखरेल र वाल्मीकि पोखरेल छन् । निमेश श्रेष्ठको सम्पादन, कालिप्रसाद बाँस्कोटा र चन्द्रकुमार दोङको संगीत रहने बताइएको छ ।

झन्डै एक महिनामा सुटिङ सकिने आउँदो वैशाखमा फिल्म रिलिज हुने निर्देशक लामाले जनाए । (कान्तिपुरबाट)