२ कार्तिक २०८३, सोमबार

भारतीय व्यवसायी भन्छन्- सूचना अभावमा पर्यटक पठाउन सकेका छैनौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tourism-delhi-1

– प्रकाशविक्रम शाह

नयाँदिल्ली (भारत), असोज १३ गते । भारतको राजधानी नयाँदिल्लीका पर्यटन व्यवसायीहरुले नेपालका पर्यटन व्यवसायीहरुसंग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन ।

हामीसंग पर्याप्त सूचना नहुँदा नेपालमा उल्लेख्य संख्यामा पर्यटक पठाउन सकेका थिएनौ तपाईहरु नेपालका पर्यटकीय क्षेत्रको जानकारी दिनुस हामी सकेसम्म वढी पर्यटक पठाउने प्रयास गर्नेछौ आउटवन्ड टुर एण्ड अप्रेटर एसोसियसन, भारतका अध्यक्ष गुलजीत सिंह सहनीले भन्नुभयो सकिन्छ भने तपाईहरु पनि पर्यटकहरु पठाउनुस् ।

नेपाल विश्वकै सुन्दर मध्येको एक देश हो भन्ने हामीलाई थाहा छ उहाँले भन्नुभयो– तर पर्याप्त सूचना नभएकोले हामीले नेपालका सबै पर्यटन गन्तव्यमा पर्यटक पठाउन सकेका छैनौ । अध्यक्ष सहनीले अहिले नेपालको काठमाडौ, पोखरा र चितवनका लागि मात्रै पर्यटक पठाउने गरेको बताउनुभयो ।

tourism-delhi-2

उहाँले नेपालका पर्यटकीय क्षेत्रबारे पर्याप्त जानकारी दिन नेपाल पर्यटन वोर्डको कार्यालय नयाँदिल्लीमा खोल्न जरुरी भएको बताउनुभयो । २२ वर्ष पुरानो उल्डन टुर्स एण्ड ट्राभल्स प्रालिका प्रबन्ध निर्देशक निर्देशक समेत रहेका सहनीले अहिलेसम्म आफूहरुले पर्यटकको चाहनाअनुसार काठमाडौ, पोखरा र चितवनका लागि मात्र टुरिष्ट प्याकेज दिने गरेको वताउनुभयो । गन्तव्य सुदूरपश्चिम बारे छलफल गर्न दिल्ली पुगेको सुदूरपश्चिमको टोलीसंगको छलफलमा उहाँले भन्नुभयो– नामै नसुनिएका साना देशका पर्यटन कार्यालय पनि दिल्लीमा छन्, तर नेपालको कार्यालय अहिलेसम्म छैन तपाईहरु फर्केर कार्यालय खोल्न सम्वन्धित निकायमा दवाव दिदा राम्रो हुन्छ ।

नेपाल पर्यटन वोर्डका बरिष्ठ अधिकृत खेमराज तिमिल्सेनाले चीन र भारतमा पर्यटन बोर्डको कार्यालय खोल्ने तयारी भइरहेको बताउनुभयो ।

छलफलका क्रममा पश्चिम नेपालमा शुक्लाफाँटा, बर्दिया राष्ट्रिय निकुञ्ज, राराताल, दोदोधारा झोलुङ्गे पुल, खप्तड, बडिमालिका, रामारोशन, कर्णाली पुल, विभिन्न धार्मिक तथा सांस्कृतिक स्थल लगायतका वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

सहभागी भारतीय पर्यटन व्यावसायीहरूले पश्चिम नेपालका विभिन्न पर्यटकीय स्थलका वृत्तचित्र रुचिपूर्वक अवलोकन गरेका थिए । उनीहरूले नेपालका विभिन्न स्थानको भ्रमणबारे जानकारी लिएका थिए । रेजेन्सी टुर्स प्रालिका निर्देशक निरज रस्तोगीले नेपालका पर्यटकीय रुट, सडक तथा हवाइ सेवाको अवस्था, शान्तिसुरक्षा वारे निक्कै चाँसो राख्नु भएको थियो । काठमाडौ, पोखरा, चितवन, सगरमाथा, मानसरोवरबाहेकका पर्यटन क्षेत्रबारे बढि प्रचारप्रसार गर्नु पर्नेमा पनि उहाँको जोड थियो ।

tourism-delhi

नेपाल एसोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाटा), सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले पश्चिम नेपालका पर्यटन गन्तव्यको टुर अपे्रटरले अवलोकन भ्रमण गरेपछि मात्रै पर्यटक पठाउनु उपयुक्त हुने बताउनुभयो ।

सुदूरपश्चिम गन्तव्य प्रर्वद्धन कार्यक्रम अन्तर्गत नेपाल पर्यटन वोर्ड, नाटा, पर्यटन विकास समाज धनगढी, कैलाली तथा कञ्चनपुरका उद्योग बाणिज्य संघ र होटल व्यावसायीको संयुक्त आयोजनामा गतसाता भारतको दिल्ली, देहरादून, नैनिताल र रुद्रपुरमा अन्तरक्रिया आयोजना गरिएका थिए ।

छलफलमा पर्यटन विकास समाजका अध्यक्ष कृष्णबहादुर महराले मानसरोवर र पशुपतिनाथ जानका लागि सुदूरपश्चिमको रुट समयका हिसावले छोटो र सस्तो पर्ने बताउनुभयो ।

छलफलहरुमा नेपाल पर्यटन वोर्डका वरिष्ठ अधिकृत रोहिणीप्रसाद खनाल, पत्रकार चित्राङ्ग थापा, कैलाली उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारी, संघका कार्यालय प्रमुख ज्योती भट्ट, होटल व्यवसायी सञ्जय चौधरी, नाटाका उपाध्यक्ष परमानन्द भण्डारी, महासचिव पदमविक्रम सिहं लगायतले नेपाल र सुदूरपश्चिमका पर्यटन गन्तव्यबारे जानकारी दिनुभएको थियो ।