पर्वत, १३ असोज । पर्वत जिल्लाको माझफाँटमा रहेको पशु सेवा केन्द्रका प्रमुख चेतबहादुर श्रेष्ठले आफ्नै कार्यालयका सहयोगीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका छन् ।
मंगलबार कार्यालय समयमा कार्यालयभित्रै बसिरहेका सहयोगी ईन्द्रप्रसाद पौडेललाई एक्कासि कुटपिट गरेर घाइते बनाएका हुन् । श्रेष्ठको कुटपिटबाट पौडेलको अनुहारमा चोट लाग्नुका साथै शरीरमा निलडाम बसेको पीडितले बताए ।
कार्यालय समयमा रक्सी सेवन गरी आएका प्रमुख श्रेष्ठले आफूलाई बिना कारण कुटपिट गरेको पौडेलको भनाई छ । कुटपिटको घटनापछि पौडेल न्यायका लागि जिल्ला पशु सेवा कार्यालयमा आईपुगेका छन् ।
उनले आफूलाई बिना कारण घाइते बनाउने श्रेष्ठलाई कारवाहीको माग गरेका छन् । कार्यालय प्रमुख सुधिरकुमार श्रेष्ठ मंगलबार कार्यालयमा नभएकाले अर्को बैठकमा छलफल गर्ने गरी पठाएको निमित्त बिष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
‘उनीहरूको सामान्य विवादमा कुटपिट भएछ’, पाण्डेले भने, ‘आफ्नै कर्मचारीमाथि हातपात गर्नेलाई विभागीय कारवाही हुन्छ ।’
पीडित पौडेलले आफूमाथि कुटपिट गर्ने श्रेष्ठलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन पनि दर्ता गराएका छन् ।
केन्द्रका प्रमुख श्रेष्ठले आफूलाई हातपात गर्न खोजेपछि रोक्न खोज्दा उनको अनुहारमा चोट लागेको दाबी गरेका छन् ।











प्रतिक्रिया