काठमाडौं, १४ भदौ । सरकारले वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिए पनि आर्थिक वर्ष २०७०–७१ मा त्यस्तो लगानीे प्रतिबद्धता रकममा खासै वृद्धि नभएको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले यसै साता सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आवमा वैदेशिक लगानीमा ०.९ प्रतिशतको सीमान्त वृद्धि देखिएको छ भने वैदेशिक लगानीका परियोजनाहरूको सङ्ख्यामा ३.८ प्रतिशतले कमी आएको छ ।
अघिल्लो आवमा उद्योग विभागले २० अर्ब १० करोड रुपियाँको वैदेशिक लगानीे प्रतिबद्धता भएका कुल ३०५ वटा विदेशी संयुक्त लगानीका परियोजनालाई स्वीकृति दिएको थियो भने विभागले आव २०६९/७० रु १९ अर्ब ९४ करोडको वैदेशिक लगानी प्रतिवद्धता भएका कुल ३१७ वटा यस्ता परियोजनाहरूलाई स्वीकृति प्रदान गरेको थियो ।
गत वर्ष दर्ता भएका कुल ३०५ परियोजनामध्ये सेवासम्बन्धी १०६, पर्यटन सम्बन्धी ८७, कृषि तथा वनसम्बन्धी ४७, उत्पादन सम्बन्धी ४४, खानीसम्बन्धी ११ र उर्जासम्बन्धी १० छन् भने आव २०६९÷७० स्वीकृत परियोजनाहरूमध्ये सेवा सम्वन्धी ८९ तथा पर्यटनसम्बन्धी ८९, उत्पादनसम्बन्धी ८४, कृषि तथा वनसम्बन्धी ४३, ऊर्जासम्बन्धी छ, खानीसम्बन्धी पाँच र निर्माणसम्बन्धी एउटा परियोजना थिए ।
आव २०६९/७० वर्षको तुलनामा आव २०७०–७१ मा कृषि तथा वन, एवम् ऊर्जासम्बन्धी परियोजना सङ्ख्या तथा लगानी रकम दुवैमा वृद्धि भएको छ भने उत्पादन, सेवा, खानी तथा पर्यटनसम्बन्धी परियोजनाको लगानी रकममा भारी गिरावट आएको केन्द्रीय बैंकले जनाएको छ ।
देशगत रूपमा विश्लेषण गर्दा गत आवमा सबैभन्दा बढी चीनबाट ११९, संयुक्त राज्य अमेरिकाबाट २८, भारतबाट २२ तथा दक्षिण कोरियाबाट २२, जापानबाट १५, संयुक्त अधिराज्यबाट १२ र अन्य देशबाट ८७ गरी कुल ३०५ परियोजना स्वीकृति प्रदान गरिएको छ । स्वीकृत परियोजनाहरूबाट कुल ११ हजार ७३२ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ ।
सरकारले आर्थिक वर्ष २०७०–७१ मा कुल पाँच लाख २७ हजार ८१४ जनालाई वैदेशिक रोजगारीको स्वीकृति दिएको थियो भने २०६९–७० मा कुल चार लाख ५३ हजार ५४३ जनालाई त्यस्तो स्वीकृति दिएको थियो । विगतमा झैँ आर्थिक वर्ष २०७०–७१ मा पनि नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मलेसिया र खाडी मुलुक रहेका प्रतिवेदनमा जनाइएको छ । रासस













प्रतिक्रिया