बुटवल, १४ भदौ । रुपन्देही जिल्लाको मर्चवार क्षेत्रअन्तर्गत पर्ने वगौली गाविस वडा नं ६ मा फैलिएको झाडापखालबाट एकजनाको मृत्यु भएको छ । झाडापखालाबाट ५० जनाभन्दा बढी बिरामी भएका छन् ।
वगौली गाविस वडा नं ६ बस्ने ३० वर्षीय मुना पालको झाडापखालबाट आज बिहान मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । पखालाबाट सिकिस्त भएका अन्य तीनजनालाई थप उपचारका लागि आफन्तहरुले भारततर्फ लगेका छन् । उक्त गाउँ भारतीय सीमा नाकामा पर्छ ।
विगत तीनदिनदेखि उक्त क्षेत्रमा सामान्य झाडापखाला देखिएको भए पनि शुक्रबार बेलुकादेखि भने गाउँमा बढी फैलिएको स्थानीयले बताएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख ओमप्रसाद पन्थीले दिएको जानकारीअनुसार अहिले सो गाउँमा ५० जनाभन्दा बढी बिरामीको स्वास्थ्य टोलीले उपचार गरिरहेको छ ।
जिल्ला जनस्वास्थ्यबाट उक्त क्षेत्रमा स्वास्थ्यकर्मी पुगेर सोही स्थानमा उपचार गरिरहेको उहाँले जानकारी दिनुभयो । टोलीमा विशेषज्ञ डाक्टर, ल्याबसहितको जनशक्ति रहेको छ । सामान्य रहेका बिरामीलाई त्यही उपचार भइरहेको र अलि बढी भएकालाई जिल्ला अस्पताल भैरहवामा उपचारका लागि पठाइएको उहाँले जानकारी दिनुभयो । झाडापखाला फैलिनुको कारण प्रदूशित पानी र खाना नै रहेको बताइएको छ । रासस
















प्रतिक्रिया