गोरखा, १४ भदौ । गोरखाको आरुघाटबाट सदरमुकामतर्फ आउँदै गरेको यात्रुबाहक बस शनिबार बिहान ११ बजे दारेगौडा भन्ने स्थानमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
ना४ख १३९५ नम्बरको यात्रुबाहक बस बगुवा गाविसको खान्चोक बजार नजिकैको दारेगौडामा दुर्घटना भएको प्रहरी निरीक्षक प्रदीप कार्कीले जानकारी दिनुभयो ।
दुर्घटनामा दर्जन बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेको पहिचान भइनसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन् ।
घाइतेहरुलाई बगुवा उपस्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ । गम्भीर घाइतेलाई भने जिल्ला अस्पताल गोरखा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।
घाइतेको उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट थप उद्धार टोली घटनास्थल पठाइएको प्रहरीले जनाएको छ । रासस
















प्रतिक्रिया