२ कार्तिक २०८३, सोमबार

खसीबाख्रा उत्पादनमा बृद्धि

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goat-Khasi-boka

पथरी (मोरङ), ८ असोज । मोरङका ग्रामीण क्षेत्रमा उन्नत जातका खसीबाख्राको उत्पादन तथा कारोबारमा वृद्धि भएको छ ।

मोरङको दर्वेशा, शनिश्चरे, जिरी खिम्ती, डाइनिया कदमाहा, दादर वेरियालगायत ग्रामीण क्षेत्रका किसानले करिब एक दर्जन व्यावसायिक फार्म खोलेर नै खसीबाख्राको उत्पादन सुरु गरिएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

ग्रामीण क्षेत्रमा सञ्चालन गरिएका एक दर्जन खसीबाख्रा फार्ममध्ये दर्वेशाको सावित्रा खसी तथा बाख्रा फार्मले उन्नत जातको खसीबाख्रा उत्पादन गरेर सबैभन्दा बढी बिक्री गरेको पशुसेवा केन्द्र रङ्गेलीका पशु चिकित्सक अनिल झाले बताउनुभयो ।

सावित्रा फार्मले यस वर्ष करिब रु २० लाखको खसीबाख्रा बिक्री गरेको सञ्चालक फणीन्द्र सुवेदीले जानकारी दिनुभयो । सो फार्ममा जामुनापारी, तराई बङ्गाली, विटल क्रस र खरी बाख्रा उत्पादन हुँदै आएको सञ्चालक सुवेदीको भनाइ छ ।

सुवेदीले सप्तकोसी विकास बैंकबाट गत वर्ष रु सात लाख ऋण लिएर भारतबाट उन्नत जातका खसीबाख्रा ल्याउनुभएको थियो । सुवेदीले तीन महिनामा नै २२ किलोको खसी उत्पादन गरेर सबैलाई आश्चर्य बनाउनुभएको थियो ।

उत्पादन गरिएका ती खसीबाख्रा भारतमा निर्यात गरेको उहाँ बताउनुहुन्छ । तीन कठ्ठा जमिनमा बनाइएको सो फार्ममा अहिले ३०० खसीबाख्रा छन । उहाँले तीन बिगा जमिनमा खसीबाख्राका लागि उन्नत जातको घाँससमेत लगाउनुभएको छ ।

बर्सेनि जुट खेती घट्दै
सौराभागका किसान जयनारायण मण्डलले पटुवा धुने मानिस नभेटेपछि आफैले धुन सुरु गर्नुभयो । १० कठ्ठा जमिनमा उहाँले पटुवा लगाउनु भएको थियो । गत वर्ष दुई विघा जमिनमा पटुवा लगाउनु भएको थियो ।

त्यस्तै विशुनलाल मण्डलले पटुवा खेतीका लागि आवश्यक पर्ने दक्ष जनशक्ति नभेटिएपछि उहाँले पाँच कठ्ठामामात्र पटुवा खेती गर्नुभएको छ । गत वर्ष उहाँले एक बिघा जमिनमा पटुवा लगाउनु भएको थियो ।

उहाँहरु जस्तै जिल्लाका धेरै किसानले आवश्यक दक्ष जनशक्तिको अभाव र सरकारको सहयोग नपाउँदा पनि पटुवा खेती गर्ने गरेका हुन् ।

जिल्ला कृषि विकास कार्यलयका प्रमुख राजेन्द्र उप्रेतीका अनुसार विगत वर्ष जस्तै यो वर्ष पनि जुट खेतीमा गिरावट आएको छ । गत वर्ष छ हजार हेक्टरमा गरिएको जुट खेती यो वर्ष घटेर पाँच हजार पाँच सय हेक्टरमा झरेको कार्यालयले जनाएको छ । मोरङको डाइनीया, बबिया विर्ता, सौराभाग, रङ्गेली, थलाहा, भौडाहालगायत क्षेत्रमा जुट अर्थात् पटुवा खेती हुँदै आएको छ । रासस