काठमाडौं, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत वर्ष कैलाली जिल्लाको टीकापुरमा भएको हिंसात्मक घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ ।
शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमाले केन्द्रीय कमिटीको सातौं बैठकले नाबालक र वरिष्ठ प्रहरीसहित ९ जनाको ज्यान जानेगरी भएको टीकापुर घटनाका दोषीको मुद्दा फिर्ता लिन नहुने निष्कर्ष निकालेको हो ।
केही दिनअघि गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रालयमै पत्रकार सम्मेलन गरी सरकारले टीकापुर घटनाका मुद्दा फिर्ता लिने र अभियुक्तलाई दशै अगाडि नै छाडिने बताएका थिए । त्यसको लगत्तै एमाले नेता एवं पूर्व गृहमन्त्री भीम रावलले निधिको अभिव्यक्तिको प्रतिवाद गर्दै टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।
शुक्रबारको एमाले बैठकले पनि टीकापुर घटनाका दोषीलाई कारवाही हुनुपर्नेमा जोड दिँदै उन्मुक्ति दिए चुप लागेर नबस्ने आसयको चेतावनी दिएको हो ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ– ‘गत वर्ष कैलाली जिल्लाको टीकापुरलगायतका विभिन्न स्थानमा भएका आपराधिक हिंसात्मक घटना र ती घटनाबाट भएको जन–धनको क्षतिबाट समग्र नेपाली समाज आहात भएको घटना ताजै छ । लोकतान्त्रिक परिपाटी र कानुनी शासनमा आघात पुग्ने गरी भएका ती घटनाका सन्दर्भमा गरिएको छानबिन प्रतिवेदनमा प्रवेश नै नगरी वर्तमान सरकारले दण्डहीनतालाई प्रश्रय दिने, देशमा शान्ति–सुरक्षा कायम राख्नुपर्ने निकायको मनोबल घटाउने र समाजमा संशय सिर्जना गर्ने किसिमले निर्णय गर्न लागेको भन्नेतर्फ नेकपा (एमाले) केन्द्रीय कमिटीको गम्भीर ध्यान गएको छ । त्यस्ता निर्णय गर्नुपूर्व देशको संविधान, कानुन, लोकतन्त्रका मूल्य र मान्यताको अनुशरण गर्न यो बैठक नेपाल सरकारसँग माग गर्दछ ।’
बैठकमा नेताहरुले सरकारले दण्डहीनतालाई प्रश्रय दिने, देशमा शान्तिसुरक्षा कायम राख्नुपर्ने निकायको मनोबल घटाउने र समाजमा संशय सिर्जना गर्ने किसिमले निर्णय गर्न लागेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
पार्टीलाई मजबुत र एकताबद्ध बनाएर लैजान सुझाव
आजको बैठकमा सुझाव दिने केन्द्रीय कमिटी सदस्यले पार्टीलाई मजबुत र एकताबद्ध बनाएर लैजानका लागि नेतृत्वपङ्क्ति एक ढिक्का भएर जानुपर्ने, मतभेद र विवादलाई समाधान गरेर निर्वाचनलाई केन्द्रमा राखेर पार्टी परिचालन गर्नुपर्ने, राष्ट्रिय एकता र समृद्धिलाई पार्टीको मूल एजेन्डा बनाउनुपर्ने, पार्टीका नेताले एकअर्काको बद्ख्वाई नगरी पार्टीको नीति र नेतृत्वको रक्षा गर्नुपर्नेजस्ता सुझाव दिएका छन् ।
साथै, स्थानीय तहको पुनःसंरचना छिटो गरी निर्वाचनमा जाने वातावरण बनाउन भूमिका खेल्नुपर्ने र राष्ट्रिय एकता, स्वाभीमान, साम्प्रदायिक सद्भाव र भौगोलिक एकतामा खलल पुर्याउने गरी आउने कुनै पनि प्रस्तावप्रति सजग हुनुपर्नेमा केन्द्रीय सदस्यले जोड दिनुभएको पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
आजको बैठकमा प्रदेश नं १ का तर्फबाट जगन्नाथ खतिवडा, प्रदेश नं ७ का तर्फबाट यामलाल कँडेल, विभागका तर्फबाट रचना खड्का र मोर्चाका तर्फबाट विश्वनाथ प्याकुरेलले समूह छलफलको निचोड राखेका थिए ।
बैठकका लागि राजनीतिक प्रतिवेदनका साथै स्थानीय निकायको पुनःसंरचना (सङ्ख्या र सीमा), पार्टी प्रवेश गरेकाको व्यवस्थापन, प्रदेश सङ्गठन कमिटीका सम्बन्धमा, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयन, केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन, स्थायी समितिका निर्णयको अनुमोदन, केन्द्रीय आयोगका प्रतिवेदन आदि कार्यसूची तय भएका छन् ।
२९ गते चियापान
एमालेले महत्वपूर्ण चाडपर्वहरु दसैँ, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसार आदिका अवसर शुभकामना आदानप्रदान गर्न पार्टीका तत्कालीन अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले आरम्भ गर्नुभएको चियापान कार्यक्रमलाई निरन्तरता दिँदै अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट असोज २९ गते शनिबार कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीको अर्को बैठक शनिबार दिउँसो पुनःबस्नेछ ।












प्रतिक्रिया