– प्रकाश न्यौपाने
भैरहवा, ६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले चीनसँगको नेपाल सम्बन्ध पछिल्लो समय असन्तुलित हुँदै गएको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको हालै सम्पन्न भारत भ्रमणबारे टिप्पणी गर्दै उनले बिहीबार भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै भने– ‘सरकार चीनसँग अघिल्लो सरकारले गरेको पारवहन सम्झौता र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण बारे मौन हुनु चीनसँगको सम्बन्ध असन्तुलित हुँदै जानु हो ।’ नेपालका प्रधानमन्त्रीहरू प्रधानमन्त्री भएपछि भारत जानु एउटा कर्मकाण्डी काम भएको भन्दै उनले दुवै छिमेकी मुलक (चीन र भारत) सँग नेपालले सन्तुलित सम्बन्ध राख्नु पर्ने बताए ।
नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जानु कर्मकाण्डी काम हो । भारत जाँदा नेपाल—भारत बिचका असमझदारी हटाई राम्रो सम्बन्ध बनाउनु भन्ने र दिल्लीबाट फर्कँदा बिमान स्थलमा नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुग्यो भन्ने भनाई पछिल्ला प्रधानमन्त्रीहरूको साझा अविब्यक्ति बनेको उनले बताए । तर यसैको आधारमा प्रधानमन्त्रीको भारत भ्रमण सफल भयो भनेर भन्न नमिल्लने उनको तर्क थियो ।
परराष्ट्र मामिलाबारे जानकार पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता लोहनीले सरकार गठन भएदेखि नै पूर्व सरकारले चिनसँग गरेका पारबहन सन्धीको बारेमा मौन हुनु र चिनियाँ राष्ट्रपति नेपाल आउने भन्दा भन्दै उक्त कुरा सेलाएर जाँदा समेत दुवै देशबाट कुनै धारणा नआउनुले नेपालको चिनसँगको सम्वन्ध असन्तुलिततर्फ जाँदै गरेको सँकेतको रूपमा उनले अथ्र्याए ।
‘दुवै छिमेकी मुलुकलाई हेर्ने नेपालको परराष्ट्र नीतिमा असन्तुलन आउनु हुँदैन, उनले भने– चिनियाँ राष्ट्रपतिको नेपालमा हुने भनिएको भ्रमणका बारेमा चिनियाँ परराष्ट्र मन्त्रालय, नेपालको परराष्ट्र मन्त्रालय मौन रहेको बेलामा प्रधानमन्त्री ९सरकार० ले यसबारे जनतालई स्पष्ट पार्नु पर्ने जरूरी छ ।’
एक छिमेकीलाई विश्वासमा लिँदा अर्को छिमेकीको विश्वास गुमाउने अवस्था आउन नहुने भन्दै उनले दुवै छिमेकी देश बिच विश्वास कायम राख्नु पर्नेमा जोड दिए । आवश्यक तयारी पुरा नगरी प्रधानमन्त्री भारत भ्रमण जाँदा नेपालले उठाउनुपर्ने राष्ट्रिय सरोकारका विषयमा दिल्लीमा पर्याप्त छलफल हुन नसकेको उनको दावी थियो ।













प्रतिक्रिया